Comments Add Comment

स्थलमार्गबाट नेपाल आउने पर्यटकलाई सबै ढोका बन्द

२९ फागुन, काठमाडौं । नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।

स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । भारतको निर्णयले लुम्बिनी क्षेत्र सुनसान हुनेछ । तर,  दक्षिणतर्फका सीमा नाकाबाट नेपाल छिर्ने तेस्रो मुलुकका नागरिकलाई भने पर्यटकका रुपमा गणना गरिन्छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।

यता, चीनतर्फको सीमा नाकासमेत बन्द छ । रसुवागढी नाका करीव एक महिनादेखि ठप्प छ । यो नाकाबाट पर्यटक नेपाल छिर्न पाएका छैनन् । यता, तातोपानी नाकासमेत बन्द भएका कारण अब दुबै देशबाट नेपाल प्रवेश गर्ने स्थलमार्ग बन्द भएको हो ।

सन् २०२० को फेब्रुअरीमा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका थिए । यसमध्ये स्थलमार्गबाट मात्र करीव २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् । यी अधिकांश दक्षिणतर्फका नाकाबाट छिरेका पर्यटक हुन् ।

भारतसँगको हवाई यात्रासमेत प्रभावित

भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।

नियमित यात्रुमाथि लागेको प्रतिवन्धले अब भारततर्फको समग्र यात्रा नै प्रभावित हुने सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो-नेपाल)का अध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए ।

‘स्थलमार्ग त अब ठप्प नै हुने भयो’, उनले भने, ‘सबै देशका नागरिक भारत छिर्न नपाउने भनेपछि अब हवाई यात्रा समेत प्रभावित हुनेछ ।’

भारतले  नेपाली यात्रुको हकमा कुन कुन शर्त राखेको छ भन्नेबारे बुझ्न नेपाली पर्यटन व्यवसायीले दूतावासमा छलफलको तयारी गरिरहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।

फेब्रुअरी महिनामा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment