Comments Add Comment

किशोरकिशोरी बटुल्दै विप्लव समूह, प्रहरीले गर्‍यो उद्दार

घटनास्थलमा बरामद हतियार । फोटो : नेपाल प्रहरी

२९ फागुन, जनकपुरधाम । गणेशनाथ चारधाम नगरपालिका–५, गौरीखोला बस्दै आएका लालबहादुर तामाङ दम्पत्ति बुवाको काजकिरियामा सहभागी हुन सिन्धुलीको दुधौली आएका थिए । गोठमा १४ वर्षीया करिना तामाङ मात्र थिइन् ।

बुधबार अपरान्ह हतियारधारी समूह त्यहाँ पुग्यो र करिनालाई आफूसँगै लिएर हिड्यो ।

त्यो खबर तामाङसम्म पुग्यो । छिमेकीले पनि हतियारधारी समूह आएको र छोरीलाई लिएर उकालो लागेको बताएपछि उनको परिवारले प्रहरीलाई खबर गर्‍यो ।

छिमेकीले नेपाल प्रहरी र सशस्त्रको संयुक्त अपरेशन

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीकाअनुसार सूचना प्राप्त भएलगत्तै अपरहणको आशंकामा अनुसन्धान थालिएको थियो । साँझ ७ बजे जिल्ला प्रहरी कार्यालय, धनुषाबाट टोली परिचालित भए पनि टोलीलाई पुग्न समय लाग्यो ।

‘टोली जाँदै गर्दा बालिकालाई लिएर उनीहरु पनि हिँडिरहेका थिए’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले अनलाइनखबरसँग भने, ‘गोठ भएको उत्तरी चुरेको फेदसम्म पुग्दै ५/७ घन्टा लाग्यो ।’

कार्कीका अनुसार ढल्केवरबाट गाडीमा करिब १० किलोमिटर गएपछि पैदल हिँडेर टोली अगाडि बढेको थियो ।

प्रदेश नं. २ बाट सशस्त्र प्रहरी बलको टोली पनि खटिएको थियो । दुवै सुरक्षा फौजको टोलीले पछ्याउने क्रममा तामाङले प्रतिकार गर्न खोजेको वा भाग्न खोजेको संकेत भेट्टाएन । कुनै प्रयोजनका लागि फकाएर लगेको हुनसक्ने आशंका बढ्यो । गौरीखोलाबाट पनि उस्तै रिपोर्ट आएपछि यो आशंकालाई बल पुगेको थियो ।

नभन्दै उदयपुरको कटारीमा विप्लव समूहका अन्य व्यक्तिसँगै भएका वेला १४ वर्षीया तामाङको उद्दार भयो । विप्लव समूहले करिनालाई प्रलोभन देखाएर फकाएको पाइएको छ । त्यसपछि उनले समूहलाई खाना समेत खुवाएकी थिइन् ।

अन्यलाई पनि लडाकु तालिम दिन लगिएको आशंका

प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालकाअनुसार पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षका मनोराम राई र इटहरीका २८ वर्षका विवेक खड्का छन् ।

अरु २० वा त्यो भन्दा कम उमेरका छन् ।

उदयपुर ताबिलका १८ वर्षका अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।

त्यस्तै, मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र सिन्धुली जुवाडेका १४ वर्षका ईश्वर पुनमगर पनि पक्राउ परेका छन् । इलाम फाकफोककी २० वर्षकी मुस्कान राई,सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद गरेको जनाइएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, धनुषातर्फ ल्याउने काम भइरहेको प्रहरी बताउँछ । यद्यपि, पक्राउ परेकामध्ये अधिकांश किशोरकिशोरी भएकाले विप्लव समूहका कार्यकर्ता नभएको आशंका गरिएको छ । प्रहरी स्रोत भन्छ, ‘उनीहरुलाई फकाएर लगिएको हुनसक्ने देखिएको छ ।’

प्रहरीअधिकृतका अनुसार पक्राउ परेका ईश्वरसहित अन्य केहीलाई पार्टीबारे राम्रो ज्ञानसमेत छैन । यद्यपि, उनीहरुलाई धनुषा ल्याएपछि बाँकी कुरा खुल्ने डीआईजी कार्की बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment