Comments Add Comment

अभियान घोषणा गर्दै रमेश खरेलले भने : अति भो क्या !

२९ फागुन, काठमाडौं । नेपाल प्रहरीका भुतपूर्व डीआईजी रमेश खरेल औपचारिकरु पले भ्रष्टाचारविरोधी अभियानमा होमिएका छन् । उनको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ को बिहीबार शुभारम्भ गरियो ।

देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले आफूहरुले वाध्य भएर अभियान सञ्चालन गर्नुपरेको खरेलसहितका वक्ताहरुले कार्यक्रममा बताए ।

अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवर्द्धन, राजनैतिक शुद्धिकरणलगायत विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ । यी लक्ष्यहरुको पूर्तिका लागि ७ वटा कार्यक्रम र गतिविधिको घोषणा गरिएको छ ।

अभियानको अवधारणापत्रअनुसार सबैभन्दा पहिले भ्रष्टाचार अन्त्यका लागि देशब्यापीरुपमा नागरिक खबरदारी कार्यक्रमहरु गरिनेछ । ती कार्यक्रममा भ्रष्टाचारी संस्कारको विरोध गर्ने मात्र नभएर भ्रष्टाचारीको पहिचान गरी उनीहरुको सम्पत्तिको सूचना संकलन गर्ने र कारवाहीको लागि दवाव दिने अवधारणापत्रमा उल्लेख छ ।

अभियानपत्रमा मूर्तरुपले कुनै राजनीतिक एजेन्डा समावेश गरिएको छैन । तर, घुमाउरो तरिकाले केही विषयहरु समेटिएको छ । ‘नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्राबधान र व्यवस्थामा सुधार ल्याउनुपर्ने’ अभियानको निस्कर्ष छ ।

‘नेपाली नागरिकहरुको प्रत्यक्ष र स्पष्ट अभिमतबिना थोपरिएका कतिपय संवैधानिक व्यवस्था एवं विषयहरुमा लोकतान्त्रिक पद्धतिको आधारमा संशोधन र जनमतको प्रक्रियामार्फत समाधान र संवोधनका उपायहरुको खोजीका लागि विज्ञ, सरोकारवाला र देशप्रेमी नागरिकहरुबीच छलफल गरी जनमत तयार गर्ने’ अवधारणापत्रमा भनिएको छ ।

खर्चिलो र प्रत्यूत्पादक देखिएको निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषयलाई अभियानले आफ्नो एजेन्डामा समेटेको छ । विदेशमा बस्ने नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउने कानून अबिलम्ब निर्माण हुनुपर्ने अभियानको माग छ । नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थामा सुधार ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ ।

संवैधानिक अंगहरुबीच शक्ति सन्तुलनको अभ्यास हुनुपर्ने, संवैधानिक निकायहरुमा भागबण्डा तथा राजनीतिक आस्था र नाताबादको आधारमा नियुक्ती गरिने परिपाटी अन्त्य हुनुपर्ने, प्रभाव र प्रलोभनमा धर्म परिवर्तन गर्न रोक लगाइनुपर्ने पनि अभियानका एजेन्डा छन् ।

अभियान सञ्चालनका लागि पाँच जनाको केन्द्रीय तदर्थ कार्यकारी परिषद निर्माण गरिएको छ । खरेलको संयोजकत्वमा रहेको परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।

खरेलले भने : भ्रष्टाचार अति भो

नयाँ अभियान भएकाले कार्यक्रममा केही फरकपना देखाउने कोशिष गरिएको थियो । सुरुमै सहभागीहरुलाई मास्क वितरण गरियो । कार्यक्रम पनि निर्धारित समयमै सुरु र अन्त्य भयो । कसैलाई पनि आसन ग्रहण गराइएन । मञ्च पूर्णतया खाली थियो ।

करिब २ सयको संख्यामा उपस्थिति रहेको कार्यक्रममा मधेसी समुदाय अधिक देखिएका थिए । चिनिएका अनुहारहरु भने खासै थिएनन् । कार्यक्रममा कार्यकारी परिषदका चार जनाले भाषण गरेका थिए ।

अन्तिममा बोलेका खरेलले देशको राजनीतिक नेतृत्वमाथि प्रहार गर्दै भ्रष्टाचारको विरोधमा तीन करोड जनतालाई शान्तिपूर्ण आन्दोलनमा उतार्ने चेतावनी दिए ।
उनले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार नगरी तपाईंंहरुलाई निद्रा लाग्दैन । तर, अब सुध्रिनुस । होइन भने ७७ जिल्लाका ३ करोड जनता शान्तिपूर्ण तवरबाट सडकमा उत्रिनेछन् ।’

भ्रष्टाचार र बेथिती पराकाष्टामा पुगेकाले अभियान सञ्चालन गर्नुपर्ने वाध्यता परेको खरेलको भनाइ थियो ।

‘देशमा सुशासन भएको भए, जनताले राम्रो सेवा–सुविधा पाएको भए, हामी यसरी आउनुपर्ने नै थिएन,’ उनले भने, ‘तर, अति नै भो क्या । यो काण्ड, त्यो काण्ड..फेरि अर्को काण्ड । अवकाशप्राप्त जीवनमा पनि हामी मौन भएर बसिरहन सकेनौं ।’

जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएको खरेलले बताए । पारदर्शिता र इमान्दारिताका साथ आफूले अभियानलाई अघि बढाउने उनको भनाइ छ ।

कार्यक्रमको अन्त्यमा भएको प्रश्नोत्तरमा खरेललाई यसअघि घोषित अर्को अभियानबाट अनायाश अलग हुनुको कारण सोधिएको थियो । खरेलले त्यसमा स्पष्ट जवाफ दिएनन् ।

‘विचार र रोडम्याप क्लियर नभइकन अगाडि बढ्नु हुँदैन भन्ने हो । हामीले कसैलाई धोका दिएका होइनौं । उहाँहरुलाई हामीले शुभकामना दिएका छौं,’ खरेलले भने ।

उनले समान उद्देश्य र विचार भएकाहरुसँग भविष्यमा सहकार्य र एकता हुन सक्ने उल्लेख गरे ।

‘अझै पनि केही बिग्रेको छैन, हामी भविष्यमा एक साथ हिँड्न सक्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment