+
+
Shares

गैंडा बस्ती पस्दा स्थानीयलाई रमिता, निकुञ्जलाई चिन्ता

‘गैंडालाई जिस्क्याउनेहरु दुर्घटनामा पर्न सक्छन्’

सुवास पण्डित सुवास पण्डित
२०७६ फागुन २८ गते २०:३२

२८ फागुन, चितवन । फागुन २६ गते साँझपख सौराहाको चित्रसारी पुल नजिकै एउटा गैंडा बस्तीकै बीच लम्किरहेको देखियो । बस्तीमा गैंडा देखेपछि मानिसहरुको रमिता लागिहाल्यो ।

कोही गैंडाको पछि–पछि दौडन थाले । कोही नजिकै मोबाइल झिकेर सेल्फी खिच्न थाले त कोही भिडियो । अलि उमेर ढल्किएका बुढाबुढी चाहिँ ‘भगवान आएको’ भन्दै ढोग्दै थिए । केही मानिसहरु गैंडाको छाला छुने भन्दै ढाप मारिरहेका पनि देखिन्थे ।

गैंडाचाहिँ बजारका घरनजिकै घाँसका बुच्चाका खाँदै आफ्नै सुरमा हिँडिरहेको थियो, गोठको भैंसी चरेजस्तो । गैंडा शान्त थियो । जिस्क्याउनेहरूसँग रिसाएन । मानिसहरुले गरेको होहल्लाले उसलाई कुनै असर गरेन ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने दुर्लभ एकसिङे गैंडा आजकाल बजार क्षेत्रमा यसरी घुम्न अभ्यस्त भइसकेका छन् । त्यसैले न मानिसहरुसँग डराउँछन्, न मानिसहरुलाई आक्रमण गर्छन् । करिब ५/६ वर्षका मंगले र मेघौली नाम गरेका यी दुई गैंडा मानव वस्तीमा पटकपटक आइरहन्छन् । मानिसहरुले दिएको खान्छन् । मानिसहरुसँगै बस्न रूचाउँछन् ।

जंगल चाहार्दा समेत नभेटिने गैंडा बजार-बजार डुलेको देख्दा यहाँ आउने पर्यटकहरू मख्ख पर्छन् । अझै होटल सञ्चालकहरुलाई त डलर झार्ने माध्यम बनेको छ, गैंडा । केही उछृङ्खल व्यक्तिहरू गैंडामाथि चढेर फोटो खिच्नसमेत तम्सिन्छन् । तर, गैंडा रिसायो भने के गर्छ भन्ने हेक्का उनीहरुलाई छैन ।

निकुञ्जका अधिकारीहरुका लागि यो विषय टाउको दुखाइ बन्दै आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेती गैंडा रिसाएमा धेरै जनधनको क्षति गराउन सक्ने बताउँछन् ।

‘अहिले त यी साना छन्, मान्छेकै वरपर रहन रुचाउँछन्, तर भोलि ठूला हुँदै जाँदा वा आफूलाई असुरक्षित भएको महसुस गरे भने जुनसुकै बेला पनि आक्रामक हुन सक्छन्,’ रुपाखेतीले भने, ‘कसैलाई जुनसुकै बेला जे पनि हुनसक्छ । जनावरको मनोविज्ञान कसरी बुझ्ने ? सेल्फी लिँदा घरपालुवा हात्तीले मारेको घटना पनि हामीले सुनेकै छौं ।’

सौराहामा आउने गैंडा देखेर रमाउने, सेल्फी खिच्नेहरुको भीड त लाग्छ । कोही चाहिँ गैंडाको पिसाब थाप्नसमेत पुग्छन् । पर्यटकहरू आँखैअगाडि गैंडा देख्दा दंग पर्ने गरेको व्यवसायी बताउँछन् ।

सौराहाको गैंडाचोकमा व्यवसाय गरेर बस्ने पूर्ण रिजाल भन्छन्, ‘गैंडा र यहाँका मान्छेका बीचमा पुरानो चिनजान छ जस्तो भइसक्यो, न यहाँका स्थानीय देखेर गैंडा डराउँछ, न त गैंडा देखेर नै यहाँका स्थानीय ।’

निकुञ्जलाई टाउको दुखाई

निकुञ्ज पूर्वी सेक्टर सौराहाका सहायक संरक्षण अधिकृत गोपाल घिमिरे बस्तीतिर डुल्ने गैंडालाई धपाएर निकुञ्जतिर पठाउने प्रयास भए पनि नसकिएको बताउँछन् ।

‘दिनहुँ एक जना मान्छे त्यसका लागि खटाएका छौं,’ सहायक संरक्षण अधिकृत घिमिरेले भने ।

गैंडाको स्वभाव घुमन्ते खालेको हुने र आफूलाई अप्ठेरो नपरेसम्म मान्छेलाई आक्रमण नगर्ने उनी बताउँछन् ।

‘तर रिसायो भने एक मिनेट पनि लाग्दैन मान्छे मार्न,’ उनले भने । उनले गैंडाबाट मान्छे र मान्छेबाट गैंडा उत्तिकै असुरक्षित रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जले बाहिर डुल्ने गैंडालाई निकुञ्जभित्र लैजाने प्रयास गरे पनि सौराहाका व्यवसायीले नमानेको गुनासो गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सौराहाका ११५ होटल यिनै गैंडा देखाएर चलेको बताए ।

उनी भन्छन् ‘सौराहाका होटल व्यवसायी गैंडा यसरी नै हिँडोस् भन्ने चाहन्छन्, यसबाट पर्यटक लोभिन्छन् भन्ने उनीहरुलाई लागेको छ ।’

यसरी डुल्ने मंगले र मेघौलीलाई निकुञ्जभित्र लैजाने उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेको भनाइमा बजार–बजारमा यसरी गैंडा आउनु राम्रो होइन । गैंडा देखिनु राम्रो भए पनि यहाँ हुने उछृंङ्खल गतिविधिले गैंडालाई तनाव हुन सक्ने र गैंडाको महत्व पनि घट्ने घिमिरे बताउँछन् ।

‘गैंडाले कुनै कारणबस आक्रमण गरेमा मान्छेको ज्यानै जान्छ । त्यसपछि आक्रोशित स्थानीयले गैंडामाथि आक्रमण गर्न सक्छन्,’ घिमिरेले भने ‘यसले मानिस र वन्यजन्तु बीचको द्वन्द्व बढाउन सक्छ । हामी गैंडा यही राख्नुपर्दछ भन्ने पक्षमा छैनौं ।’

मंगले र मेघौलीको कथा

२०७४ सालमा राप्तीमा आएको ठूलो बाढीले निकुञ्जका कयौं गैंडालाई बगाएको थियो । बाढीले बगाउँदा केही गैंडा मरे भने कति भारतबाट उद्धार गरेर निकुञ्जमा ल्याइएको थियो । यसरी नै बाढीले बगाएर उद्धार गरेर ल्याइएका गैंडा हुन् मंगले र मेघौली । उनीहरु त्यसबेला करिब २ वर्षका थिए ।

उद्धार गरेर ल्याइएका गैंडालाई निकुञ्जको पूर्वी सेक्टर सौराहामा राख्ने गरिन्छ । यहीँ हुर्काइन्छ । अहिले पनि पूर्वी सेक्टर कसरामा एउटा ५ महिनाको र अर्को एक वर्षको टुहुरा गैंडा छन् । निकुञ्जका धेरैजसो भेटेनरी चिकित्सकहरु पूर्वी सेक्टरमा नै बस्ने भएकाले यहीँ गैंडाका टुहुरा बच्चाहरुलाई राख्ने र हुर्काउने गरिएको छ । मंगले र मेघौली पनि यहीँ हुर्किएका हुन् ।

यी दुवै बेला–बेलामा पूर्वी सेक्टरको कार्यालयभित्र नै आउँछन् । आफ्नो सुरले बस्छन् र फेरि गाउँतिर चर्न जान्छन् ।

‘हिँजोआज ठूला हुँदै गएकाले आफ्नो घुम्ने क्षेत्र पनि फराकिलो बनाउँदै लगेका छन्,’ पूर्वी सेक्टर सौराहाका सहायक संरक्षण अधिकृत घिमिरेले भने, ‘भित्र जंगलमा छाडे पनि यिनीहरु फेरि वस्तीमै आउँछन् होला ।’

निकुञ्जभित्र जाँदा ठूला भालेले आक्रमण गर्न सक्ने भएकाले डराएर बाहिर बस्न रुचाएको हुनसक्ने घिमिरे बताउँछन् । ‘मान्छेसँगै सामिप्यतामा नै हुर्किएका गैंडाले हत्तपत्त आक्रमण गदैनन्, तर भर त के हुन्छ र ?’ घिमिरेले भने, ‘अल्लि ठूलो भएर पोथी वा भाले खोज्न थालेपछि निकुञ्जभित्र जान पनि सक्छन् ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती मान्छेसँग सामिप्य भएको गैंडाको स्वभाव अचम्मको हुने बताउँछन् ।

‘यसअघि यस्तै टुहुरो जङ्गे थियो, पहिला सानो हुँदा बस्दै गरेको खोरमा जहिले पनि गएर बस्नैपर्ने, तर ठूलो भएकाले खोरभित्र जान सक्दैनथ्यो । एकदिन त खोरको ढोका नै भत्काइदियो,’ प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने, ‘मान्छेको गफ सुन्न रूचाउने, रेडियो बजेको ठाँउमा गएर उभिने गर्थ्यो ।’

हेर्नुहोस् भिडियो

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?