Comments Add Comment

मिटरमा किन गुड्दैनन् काठमाडौंका ट्याक्सी ?

सिन्डिकेटका कारण भाडा महंगो, प्रिपेड ट्याक्सी पहुँचवालाको कब्जामा

२८ माघ, काठमाडौं । पुस ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभा सदस्य नन्दा चपाईं ट्याक्सी खोज्दै थिइन् । पेप्सीकोला जान उनले ४ वटा ट्याक्सीसँग कुरा गरिन् । तर, सबैको जवाफ एउटै आयो- मिटरमा गइँदैन ।

सबै ट्याक्सी चालकको एउटै शर्त थियो, मिटरमा जाने भए डेढ सय रुपैयाँ थपेर दिनुपर्छ । त्यसपछि विधायक चपाइँ बाध्यतावस शर्त स्वीकारेर गन्तव्यमा पुगिन् ।

पुस १६ गते राष्ट्रियसभा बैठकमा उनले ट्याक्सीबाट ठगिएको मात्रै सुनाइनन्, सरकारले यसतर्फ ध्यान दिनुपर्ने सुझाव पनि दिइन् । ‘शहरमा मजस्तो आवश्यकता र बाध्यता पर्नेहरु धेरै हुनुहुन्छ । ट्याक्सी चालकको मनोमानी रोक्न कडा र प्रभावकारी कानूनको व्यवस्था हुन अत्यन्तै आवश्यक छ’ सांसद चपाईंले भनेकी थिइन् ।

आइतबार साँझ हेटौंडाबाट चार सय रुपैयाँ भाडा तिरेर टाटा सुमोमार्फत बल्खुमा उत्रिएका निरञ्जन रिजालले बल्खुबाट नयाँबानेश्वर आउन ट्याक्सीलाई ६ सय रुपैयाँ बुझाउनुपर्‍यो ।

ट्याक्सीले ८ सयबाट बार्गेनिङ थाले पनि दुई सय रुपैयाँभन्दा घटाउन सकेनन् रिजालले । ‘८० किलोमिटरको भाडा चार सय तिरेर आइपुगियो, यहाँ ४/५ किलोमिटरमा ६ सय रुपैयाँ तिर्नुपर्‍यो,’ रिजाल भन्छन्, ‘मिटरमा गुड्दा २ सय रुपैयाँले पुग्थ्यो होला । तर, चोकमा बसेका जति सबै ट्याक्सी चालकहरु मिलेर यात्रुलाई ठगिनैपर्ने बनाउँदा रहेछन् ।’

काठमाडौंमा ट्याक्सी चढ्दा ठगिनु समान्यजस्तै भइसक्यो ।

सडकमा ट्याक्सी कुर्दै उभिएका नेता हुन् वा कानून निर्माता सांसद, या कुनै विशिष्ट पदमा बहाल व्यक्ति, सबैले भोग्ने साझा समस्या यही हो- काठमाडौंका ट्याक्सीहरु मिटर जडित छन्, तर मिटरमा चल्दैनन् ।
ट्राफिक प्रहरीकै भनाइ अनुसार पनि मिटरमा जान नमान्ने मात्रै हैन, मिटरमा ‘अर्थिङ’ गरेर ठग्नेहरु ट्याक्सी चालकहरु पनि प्रशस्तै भेटिन्छन् काठमाडौंमा ।

ट्याक्सीमा हुने लुटतन्त्रको कथा काठमाडौंमा जीवन गुजारिरहेकाहरुका लागि खासै नयाँ हैन । तर, कहिलेकाँही बाहिरी जिल्लाबाट काठमाडौं आइपुग्नेहरु यस्तो ठगीबाट झन् बढी पीडित बनिरहेका छन् । विदेशबाट आउनेहरु पनि निर्वाधरुपमा लुटिँदै आएका छन् ।

बाहिरबाट आएको थाहा पाउनेवित्तिकै ट्याक्सी चालकहरुले मिटरमा जान नमिल्ने भन्दै ठग्न थालिहाल्छन् । मिटर बक्स त देखाउने मात्र हो ।

ठगीका अनेक तरिका

काठमाडौंका विभिन्न चोकहरुमा यात्रु कुरिरहेका अधिकांश ट्याक्सीको ढोका भित्रबाट बन्द हुन्छ । कारण हो, यात्रु सीधै ट्याक्सीभित्र नपसुन्, भित्र पसेर गनगन नगरुन् ।

बाहिरै उभिएर ‘बार्गेनिङ’ नसकिएसम्म भित्रबाट चालकले ढोका खोल्दैनन् ।

यात्रुलाई जब-जब अप्ठ्यारो परेको हुन्छ, त्यतिबेला ट्याक्सी चालकका लागि ‘स्वर्ण समय’ सुरु भइहाल्छ । ट्याक्सीले यात्रुलाई असजिलो हुने परिस्थिति र ठाउँमा झन चर्को रुपमा ठग्छन् ।

रातको समयमा कम ट्याक्सी चल्छन् । जब ८ बजे सार्वजनिक यातायात ठप्प हुन्छ, त्यसपछि ट्याक्सीको ठग्ने दरको पारो पनि धेरै माथि चढ्छ । ८ बजेपछि ५ सय रुपैयाँ तिर्ने शर्त नस्वीकारी ट्याक्सी चढ्नै पाइँदैन । मिटरमा उठ्ने भन्दा तेब्बरसम्म रकम लिइन्छ ।

अझ पानी पर्दा र मौसम प्रतिकुल भएका बेला ट्याक्सी चालकको रवाफ त्योभन्दा उच्च हुन्छ ।

त्यसैगरी नजिकका दूरीमा ट्याक्सीले यात्रु नै चढाउँदैनन् । यसले गर्दा सार्वजनिक बस चढ्न नसक्ने अशक्त, बिरामी तथा वृद्धवृद्धालाई सडकमा चर्को समस्या पर्ने गरेको छ । र, उनीहरु चालकले मागेजति पैसा तिरेर लुटिन बाध्य छन् ।

अस्पताल लगायतका संवेदनशील क्षेत्र वरपर भेटिने ट्याक्सीहरुको दादागिरी सबैभन्दा बढी हुन्छ । बिरामी र बिरामीका आफन्तलाई निर्विकल्प बनाएर ठग्ने संस्कृति झाँगिँदो छ । ट्याक्सी चालकलाई देख्दा यस्तो लाग्छ, काठमाडौंमा सरकारै छैन, यात्रुलाई जति लुटे पनि हुन्छ, जति ठटाए पनि हुन्छ ।

प्रभावहीन बिलिङ सिस्टम

ट्याक्सीमा यस्तो ठगी रोक्न सरकारले कम्प्युटराइज्ड बिलिङ मेसिन जोडेको बताउने गरेको छ । तर, त्यसको प्रयोग शून्यजस्तै छ । ठगी नियन्त्रणका लागि भनेर सुरु गरिएको मिटर पि्रन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझैसम्म तयार भएका छैनन् ।

जोडिएका मिटर र मिटर बिलिङ सिस्टम प्रयोगमा ल्याउन ट्याक्सी चालक र व्यवसायीले अटेरी गरिरहेका छन् । कतिपय ट्याक्सीले त अझै बिलिङ सिस्टम जोडेकै छैनन् । धेरै यात्राुहरुलाई पनि यसबारे जानकारी नहुँदा ट्याक्सी चालकलाई सजिलो भएको छ ।

धेरै चालकहरुले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । बिगि्रएको बाहना गरेर उनीहरुले यात्रुलाई ठग्ने प्रचलनमा थोरै पनि कमी नआएको निश्कर्ष ट्राफिक प्रहरीको पनि छ ।

बिल प्रिन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइए पनि सरकारी तवरबाट कारवाहीका लागि कुनै कदम चालिएको छैन । ट्याक्सीले सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको बढ्यै छ ।

ट्याक्सी व्यवसायीले यो सिस्टम यसअघि एक पटक फेल भइसकेको भन्दै जडान गरे पनि प्रभावकारी नहुने दाबी गर्दै आएका छन् । आखिरीमा नै प्रयोगमा नल्याएर उनीहरुले यसलाई असफल बनाई छाडे ।
यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटर अनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको विश्वास थियो । तर, जति पहल गर्दा पनि ट्याक्सीहरु सुध्रन नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘ठग्ने नियत भएकासँग कसैको केही लाग्दैन, हामी कानून कार्यान्वयन गर्न ठगी गर्नेमाथि कारवाही चलाइरहेका छौं,’ उनले भने, ‘किन मिटरमा गुड्दैनन् भन्ने कुरा ट्याक्सी चलाउनेहरुलाई नै थाहा होला ।’

विभाग भन्छ- मिटरमा घाटा छैन

मिटरमा जान अनुरोध गर्नेलाई ट्याक्सीवालाहरुले गर्ने एउटै तर्क हुन्छ, ‘मिटरमा गुड्दा हामीलाई घाटा लाग्छ ।’

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान ०६९ सालदेखि भाडाको वैज्ञानिक समायोजन नभएकाले घाटामा ट्याक्सी चलाउनुपर्ने तर्क गर्छन् ।

तर, यातायात व्यवस्था विभाग यसलाई नाजायज तर्क भन्छ । विभागका अनुसार सरकारले तेलको मूल्यदेखि ट्याक्सीका सञ्चालन तथा मर्मत शुल्कसम्म जोडेर ट्याक्सी भाडा निर्धारण गरेको छ । भाडालाई समायानुकल परिवर्तन पनि गरिँदै आएको छ ।

कसरी, कति घाटा लाग्यो भनेर ट्याक्सी व्यवसायीहरु गर्ने तर्कमा कुनै दम नभएको विभागको भनाइ छ । विभागका निर्देशक तीर्थराज खनाल ट्याक्सी सञ्चालकहरुले सरकारले तोकेको भाडामै यात्रु बोक्नुपर्ने बताउँछन् ।

नबोक्नेमाथि ट्राफिक प्रहरीले कारवाही चलाइरहेको भन्दै उनले विधि र कानूनलाई सम्मान गर्न ट्याक्सी चालक र व्यवसायीलाई आग्रह गरे । ‘तेलको मूल्य अनुसार पटक-पटक भाडा समायोजन गरेका छौं,’ निर्देशक खनाल भन्छन्, ‘ट्याक्सीहरुले सरकारले तोकेकै भाडामा यात्रुलाई सेवा दिनुपर्छ, यसमा कुनै सम्झौता हुँदैन ।’

नसुध्रिने ट्याक्सी

अहिले काठमाडौंमा करिब ९ हजार ट्याक्सी गुड्छन् । यी ट्याक्सीको अनुगमन गर्ने जिम्मा पाएको नियामक निकाय यातायात व्यवस्था विभाग हो । यस विभागका विभागीय मन्त्री बसन्तकुमार नेम्वाङ हुन् ।
तर, यातायात व्यवस्था विभाग ट्याक्सीको अनुगमन गर्न कहिल्यै सडकमा आउँदैन । उसले ट्राफिक प्रहरीलाई जिम्मा दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी ठगी रोक्न प्रयत्न नै नगरेको होइन । उसले अहिले पनि ‘हाउ मच’ अभियान चलाइरहेको छ । यो अभियान अन्तरगत सादा पोशाकमा खटिएका प्रहरीले ट्याक्सीसँग बार्गेनिङ गर्छन् र महाशाखामा पुर्‍याएर ५ हजारसम्मको जरिवाना रसिद थमाउँछन् । तर, पनि ट्याक्सीहरु सुध्रने कुनै छाँट छैन । मौका भेट्नासाथ चालकहरुले सोझा यात्रुबाट ढाड खुस्किने गरी भाडा असुली गरिहाल्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष ०७५/७६ मा मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने १३ हजार ट्याक्सीका चालकलाई कारवाही गरेको थियो ।
महाशाखाले आर्थिक वर्षका ०७४/७५ मा ८ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । दैनिक औसत ४०-५० ट्याक्सीहरु यस्तो कारवाहीमा पर्छन् ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना तिराउने गरेको छ । चर्को भाडा लिएर पाँच पटकभन्दा बढी कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।

त्यसैगरी ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गर्दै आएको छ । तर, यात्रुले पनि प्रहरीलाई यस्तो जानकारी खासै गराउँदैनन् । महाशाखाका प्रवक्ता श्रेष्ठ यात्रुले ठगिएको जानकारी गराए ट्राफिकले तत्काल कारवाही गर्ने बताउँछन् । ‘यात्रु सचेत भए भने ठगी नियन्त्रण गर्न सकिन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले सक्दो प्रयास गरेका छौं ।’

सिन्डिकेटका कारण भाडा महंगो, प्रिपेड ट्याक्सी पहुँचवालाको कब्जामा

अहिले सरकारले नै ट्याक्सीमा सिन्डिकेटलाई संरक्षण गरिरहेको छ । सरकारले हाल नयाँ ट्याक्सीको दर्ता गर्दैन । यसले ट्याक्सी सेवामा नयाँलाई प्रवेश मात्र रोकेको छैन, भएका ट्याक्सीमा एकाधिकार र विकृति थपेको छ ।

पुराना व्यवसायीले एउटा ट्याक्सी २० वर्ष चलाउँछन् । पुनः सोही नम्बर प्लेटमा अर्को गाडी किनेर उसैले चलाउन भने पाउँछ । यसका लागि सरकारले अनुमति दिने गरेको छ । तर, कोही स्वदेशमै ट्याक्सी चलाएर गुजारा गर्न चाहन्छ भने उसलाई सरकारले नै नयाँ ट्याक्सी किन्न र दर्ता गर्न दिँदैन । ‘सट्टा दर्ता’का नाममा अहिले पनि पुरानै व्यवसायीले ट्याक्सी सेवा कब्जा गरिरहेका छन् । यसले नयाँ व्यवसायीलाई स्तरीय सेवा दिन आउन निषेध गरिरहेको छ । किनकी एउटा ट्याक्सीको नम्बर प्लेटका लागि १० लाखसम्म तिर्नुपर्ने बाध्यता छ ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् । जब कि झण्डै १५ वर्षअघि काठमाडौंमा ११ हजार ट्याक्सी थिए ।

ट्याक्सी चल्ने सम्भावना रहेका धेरै शहरमा सरकारले अहिले पनि दर्ता खोलेको छैन । सरकारको यही सिन्डिकेटकै कारण ट्याक्सी सेवामा प्रतिस्पर्धाको वातावरण बन्न सकेको छैन । र, यसकै आडमा सेवामा मनपरस्तन्त्र हाबी भएको छ ।

खुलारुपमा ट्याक्सी दर्ता भएर हुन प्रतिस्पर्धा गर्न दिए ट्याक्सीको भाडादर स्वतः घट्ने र थोत्रा ट्याक्सी आफैं विस्थापित हुने उपभोक्ता अधिकारकर्मी थापा बताउँछन् । अहिले काठमाडौं उपत्यका लगायत देशभर थोत्रा ट्याक्सीको बाहुल्य छ । जसमा पैसा तिरेर पनि यात्रा गर्न सहज र सुरक्षित छैन ।

नेपाली मात्र होइन, केही विदेशी ट्याक्सी कम्पनीहरुले समेत ट्याक्सी सेवामा आउने इच्छा देखाएका छन् । तर, सरकारकै सिन्डिकेटले कोही पनि यो व्यवसायमा आउन पाउने अवस्था छैन । त्रिभुवन विमानस्थलका पि्रपेड ट्याक्सी पनि सीमित पहुँचवालाहरुको कब्जामा छ । त्यहाँ रहेका २ सयबाहेक हरियो प्लेटका ट्याक्सी थप्न पाउने अवस्था छैन । यसले पनि पुराना व्यवसायी र चालकहरुमा मनोमानी मौलाएको तर्क उपभोक्ताहरुको छ ।

उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा सरकारले घुमाउरो रुपमा ठगीलाई प्रोत्साहन गरिरहेको बताउँछन् । जनताको समस्यालाई नजरअन्दाज गरिएकाले नै समस्या बढ्दो रुपमा देखिएको उनको आरोप छ । ‘तेलको मूल्य बढ्यो कि भाडा बढेको छ, सेवाको गुणस्तर अनुसार त यहाँ ट्याक्सीको भाडा धेरै महंगो हो,’ उनले भने,’ट्याक्सी सेवामा सिन्डिकेट रहँदासम्म यो समस्या कायम रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment