Comments Add Comment

‘स्थलमार्ग भएर हुने नेपाल-भारत व्यापारमा कुनै अवरोध छैन’

२९ फागुन, काठमाडौं । स्थलमार्ग भएर हुने नेपाल-भारत व्यापारमा कुनै अवरोध नभएको भन्सार कार्यालयहरुले जनाएका छन् । नेपाल-भारतबीच ठूलो मात्रामा व्यापार हुने वीरगन्ज, भैरहवा, विराटनगर र सुख्खा बन्दरगाहको व्यापार नियमित र निरन्तर रहेको भन्सार कार्यालयहरुले जनाएका छन् ।

होलीको सार्वजनिक बिदामा ग्याँस र पेट्रोलियम पदार्थबाहेक अन्य ब्यापार रोकिए पनि बुधबारबाट सामान्य रहेको वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख डुण्डी निरौलाले अनलाइनखबरलाई बताए । ‘होलीको बिदामा दुई दिन ग्यास, डिजेल र पेट्रोल बाहेक अन्य आयात प्रभावित थियो अहिले नियमित छ,’ निरौलाले भने । चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार भएर मुलुकको कुल आयातको सबैभन्दा धेरै ३४ प्रतिशत व्यापार भएको थियो ।

कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्र केही धिमा हुँदाको असरले व्यापारको आकार घटे पनि नेपाल-भारत व्यापारमा कुनै अवरोध नरहेको भन्सार प्रमुख निरौलाले बताए । चालु आर्थिक वर्षको ७ महिनामा वीरगन्ज भन्सार कार्यालय भएर २ खर्ब ७५ अर्ब ६९ करोडको बस्तु आयात भएको थियो भने २० अर्ब ४० करोड बराबरको वस्तु निर्यात भएको थियो ।

यस्तै भैरहवा नाकाको व्यापार पनि नियमित रहेको भन्सार कार्यालयले जनाएको छ । ‘नाकाको व्यापार नियमित छ, भैरहवा भएर हुने व्यापारमा कुनै अवरोध छैन,’ भन्सार प्रमुख कमल कुमार भट्टराईले भने । भारतले स्थामार्ग पनि बन्द गरेको भन्ने हल्ला आफूले पनि सुनेको तर त्यसमा कुनै सत्यता नभएको उनले बताए ।

‘भन्सारका गतिविधि नियमित छन्, भारतीय पक्षसँग नियमित कुराकानी र छलफल भएको छ, तर हल्ला भएजस्तो कुनै समस्या छैन,’ उनले भने ।

भन्सार विभागकाअनुसार पर्साकै सुख्खा बन्दरगाह, पूर्वतर्फ विराटनगर र मेची भन्सारको व्यापारमा पनि कुनै अवरोध छैन । पश्चिम नेपालको नेपालगन्ज र कन्चनपुरको गड्डा चौकी भन्सारको व्यापार पनि नियमित रुपमा भएको विभागले जनाएको छ ।

भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

भारत सरकारले बुधबार १५ अपि्रलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment