Comments Add Comment

डोटीलाई शैक्षिक हब बनाउने योजनामा छौं : मुख्यमन्त्री भट्ट

१ चैत, डोटी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी जिल्लालाई शिक्षाको केन्द्रस्थल (शैक्षिक हव) को रुपमा विकास गर्ने सोच प्रदेश सरकारले बनाएको बताएका छन् ।

प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी क्षेत्र विकास समितिद्वारा आयोजित मुख्यमन्त्री भट्टको अभिनन्दन कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय बुद्धिजीवीहरुले पहल गर्नु पर्ने पनि बताए ।

डोटी बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको र इन्जिनियरिङ्ग कलेजका लागि पनि छलफल अगाडि बढेको जानकारी उनले दिए । मुख्यमन्त्री भट्टले प्रदेशस्तरको निजामती कर्मचारी विद्यालय डोटीमै स्थापना भएको र सोका लागि भवन निर्माण भइरहेको बताए ।

प्रदेशस्तरकै शहीद आवासीय विद्यालय डोटीमै रहेको र उक्त विद्यालयमा वन विज्ञानको पढाइसमेत भइरहेको जानकारी दिँदै मुख्यमन्त्री भट्टले भने, ‘अन्य शैक्षिक संस्थाहरु पनि डोटीमा स्थापना गर्न सकिन्छ ।’

उनले खप्तड पर्यटन क्षेत्रको विकास लागि प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको बताए । उनले भने ‘हामीले यो महिनाको अन्तिमतिर खप्तडमा वृहत सम्मेलन गर्ने सोच बनाएका छौं, तर कोरोना भाइरसको कारण त्यो कति सम्भव हुन्छ, हेरौं ।’

उनले यदि कोरोनाको त्रास कम भए सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रदेश सभाका सदस्यहरु, नेपाल सरकारका प्रतिनिधिहरु र निजी क्षेत्रलाई समेत सहभागी गराइ वृहत सम्मेलन गरिने बताए ।

खप्तड क्षेत्रको झिग्रानासम्मको सडक कालोपत्रेको काम भइरहेको बताउदै उनले निकुञ्ज क्षेत्रमा सडक निर्माणका लागि संघीय सरकारसँग कुरा भइरहेको जानकारी दिए । ‘शैलेश्वरी मन्दिर खप्तड क्षेत्रको मुख्य प्रवेशद्वार हो,’ त्यसैले शैलेश्वरी क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकारले शैलेश्वरी मन्दिरमा पार्क सहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि सुरु गर्ने गरी बजेट व्यवस्था गरेको छ ।’

प्रदेश सरकारको आर्थिक सहयोगमा शैलेश्वरी क्षेत्रमा निर्माण भइरहेको अतिथि गृहको शिलान्यास समेत गरेका भट्टले चुनावको बेला गरिएका बाचा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘हामीले पाँच वर्षभित्र गर्ने भनी गरेका बाचा यही कार्यकालमा पूरा गर्छौंं ।’

३० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनले मन्दिरमा आउने श्रद्धालु भक्तजन र सन्तमहन्तहरुलाई सहज हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्ट बताउँछन् । शैलेश्वरी तथा डोटीको विकासका लागि मुख्यमन्त्री भट्टले खेलेको महत्वपूर्ण भूमिकालाई महसुस गरेर अभिनन्दन गरेको जानकारी पनि उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment