
बार्सिलोना। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोना (कोभिड-१९) सङ्क्रमण भएको पुष्टि भएको छ । परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै मन्त्रिपपरिषद्का सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरुमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् ।
स्पेनमा कोरोनाको संक्रमण तीव्र भएपछि प्रधानमन्त्री सान्चेसले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्।
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री सान्चेसले घोषणा गर्दै दुई सातासम्म यो ब्यबस्था लागू गर्ने बताए ।
खाद्यान्न खरिद गर्न, अस्पताल वा औषधि खरिदका लागि, बैंकबाट रकम निकाल्न, परिवारको सदस्य बिरामी भएमा सहयोग गर्न र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले अनुरोध गरेको छ।
नियम उलङ्घन गर्दै अनावश्यक रुपमा घर बाहिर निस्केमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय तथा पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुनसक्ने बताइएको छ ।
यसअघि सरकारले शुक्रबारदेखि नै मुलकभर आपतकालीन अवस्थाको घोषणा गरेको थियो। युरोपमा इटालीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित भएको छ ।
शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १९६ पुगेको छ भने हालसम्म करिब ६ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
नेपालीहरु सुरक्षित
हालसम्म नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित नभएको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । त्यस क्षेत्रमा नेपालीहरुको संख्या न्यून छ । झन्डै ४ हजार नेपालीहरु बसोबास गर्ने ठानिएको कातोलोनिया क्षेत्रमा कोरोनाको प्रभाव तुलानात्मक रुपमा कम देखिएको छ ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरुलाई घरमै बस्न र कोरोनाबाट सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग पनि सम्पर्क गरिरहेको छ । कुनै पनि सहयोग चाहिएमा जुनसुकै बेला सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु ।’
दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुनेछ । सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्ट तत्काल हेरिने र फोनमार्फत बोलाउने व्यवस्था मिलाइएको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया 4