Comments Add Comment

महान्यायाधिवक्ता खरेलको निर्देशन – बरामद मास्क बिक्रीका लागि पठाउनू

३ चैत, काठमाडौं । व्यापारीले लुकाएको ठाउँबाट बरामद मास्क बजारमा बिक्री वितरणका लागि पठाइने भएको छ ।

मास्क लुकाउनेविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमाणस्वरुप बरामद मास्क पेश गर्नुपर्ने हुँदा बजारमा पठाउने कि नपठाउने भन्ने अन्योल भएको थियो ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरीले बरामद गरेको मास्क अविलम्ब बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले प्रहरी प्रमुख ठाकुर ज्ञवालीलाई पत्र लेखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर बरामद मास्कको मूल्य र नमुनासहितको अभिलेख एवं फोटोसहितको डिजिटल अभिलेख राखेर बजारमा पठाउन निर्देशन दिएका हुन् ।

बरामद मास्क थन्किरहँदा बजारमा मास्‍क अभाव कायमै रहने हुँदा डिजिटल अभिलेख राखेर बजारमा पठाउन सुझाव दिएको महान्यायाधिवक्ता खरेलको भनाइ छ ।

त्यस्तै बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राख्न महान्यायाधिवक्ताको निर्देशन छ ।

त्यसपछि मुद्दा अभियोजनका क्रममा धरौटी खाताको रकम बरामद गर्न मागदावी गर्न महान्यायाधिवक्ताको सुझाव छ । प्रहरीले केही दिनयता १० लाख भन्दा बढी थान मास्क बरामद गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment