+
+
Shares

वडाध्यक्षहरुलाई प्रकाशमानको निर्देशन– कोरोनाबाट त्रसित जनताको सेवामा जुट्नुस्

महँगी र कालोबजारी रोक्न नसकेको भन्दै सरकारको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १२:२५

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताहरुलाई घरघरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् । साथै कोरोना भाइरसको त्राससँगै कृत्रिम अभाव सुरु भएको भन्दै उनले जनजीवन सहज बनाउनतेर्फ भूमिका खेल्न निर्देशन दिए ।

मंगलबार काठमाडौं महानगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु र पार्टीका क्षेत्रीय सभापतिहरुसँग बबरमहलमा आयोजित छलफलमा नेता सिंहले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उनीहरूको सेवामा खटिन निर्देशन दिएका हुन् । ‘विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसले पार्न सक्ने असरलाई ख्याल गरी स्थानीय जनताको घर–घरमा पुगेर आमनागरिकको सहयोगमा जुट्नु पर्छ,’ काठमाडौं क्षेत्रनम्बर एकका सांसदसमेत रहेका नेता सिंहले भने ।

आमनागरिकमा रहेको त्रास हटाएर वातावरण सहज बनाउने भूमिका जनप्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस नेता सिंहले भने- हामीले गरेर देखाउने बेला यही हो । व्यक्तिगत आकांक्षा त्यागेर दिनरात जनताको सेवामा लागौं

‘सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बजारमा कृत्रिम अभाव हुँदासमेत वर्तमान सरकारले हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुःखद भएको बताए । अहिलेको संकटमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार रहेको बताउँदै नेता सिंहले कालोबजारी र महँगी नियन्त्रण गर्न तथा कोरोनाको सम्भावित संकट पार लगाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिका प्रभावकारी नहुँदा पार्टी संकटमा परेको कुरा सत्य भएको भन्दै नेता सिंहले भने, ‘हामीले गरेर देखाउने बेला यही हो । व्यक्तिगत आकांक्षा त्यागेर दिनरात जनताको सेवामा लागौं ।’ सरकारलाई निरन्तर खबरदारी गर्दै सबैजना जनताको सेवामा जुट्नुपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाको काम गराइ चित्तबुझदो नभएकाले टुलुटुलु हेरेर बस्नुभन्दा सशक्त भूमिका देखाउन नेता सिंहले निर्देशन दिए ।

वर्तमान सरकारको कामबाट जनता आजित भए पनि कांग्रेसप्रति जनता आकर्षित हुन किन सकिरहेका छैनन् भनेर सोच्नुपर्ने बेला आएको बताउँदै नेता सिंहले यस्तो अवस्था आउनुमा पार्टीको मूल नेतृत्व नै जिम्मेवार रहेको बताए । उनले भने, ‘कांग्रेसको नेतृत्व परिवर्तनमा विना कांग्रेसप्रति जनताको आकर्षण बढ्ने छाँट छैन ।’

छलफलमा काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट निरवाचित जनप्रतिनिधिहरुले मेयर र कर्मचारीहरुले आफूहरुलाई असहयोग गरेको, रकम बिनियोजनमा पक्षपात गरेको, कांग्रेसका प्रतिनिधिहरुले लगेका योजना अलपत्र पार्ने गरेको लगायतका गुनासा गरेका थिए । कार्यक्रममा सांसद राजेन्द्र कुमार केसी, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ, क्षेत्रिय सभापति र जनप्रतिनिधिहरुले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?