Comments Add Comment

प्रदेश २ को नामाकरण र राजधानी तोक्न मतदान शुरू, सात पटक मतदान हुने

४ चैत, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न निर्वाचन शुरू भएको छ । पहिलो मतदान सभामुख सरोजकुमार यादवले गरेका छन् । नाम र राजधानीसम्बन्धी विभिन्‍न प्रस्तावमा सात पटक निर्वाचन हुने भएको छ ।

नामाकरणका लागि चार पटक र राजधानी तोक्न तीन पटक गरी सात पटक निर्वाचन हुन लागेको हो ।

विभिन्न राजनीतिक दलका सांसदले दर्ता गरेको प्रस्ताव नाम अनुसार छुट्टाछुट्टै मतदानमा लैजाने सभामुख यादवले जानकारी दिए । उनले सबै नाममा हुन्छ कि हुन्नमा रेजा चिह्न लगाएर सांसदले मतदान गर्ने बताए ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका छन् ।

यस्तै, स्थायी राजधानीका लागि तीन वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशको राजधानी जनकपुरधामलाई राख्ने विषयमा सहमति भइसके पनि नामाकरणको विषयमा सहमति हुन सकेको छैन ।

दुबै प्रक्रियाका लागि दुई तिहाई मत आवश्यक परे पनि कुनै दलसँग यो मत छैन । सबैभन्दा बढी नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट छ ।

कुनै प्रस्तावमा २ तिहाइ बहुमत पुगे निर्वाचन टुंग्याइने र नपुगेमा लगातार निर्वाचन हुनेछ । कुनै पनि नाममा दुई तिहाइ नपुगे अर्को मितिमा अर्को निर्वाचन हुने सभामुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment