+
+
Shares

‘म मदनकृष्ण’ को सेटमा भावुक मदनकृष्ण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ।

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गते काभ्रेको धुलिखेलबाट छायांकन सुरु भएको थियो ।

पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत दिएका छन् ।

‘उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ’ निर्देशक मिलन चाम्सले भने, ‘जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।’

दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिए ।

‘म मदनकृष्ण’ मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् ।

अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’ लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका छन् ।

फिल्म ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

मदनकृष्णको बाल्यकाल, जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा फिल्ममा देखिनेछ ।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् । यो फिल्मलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?