Comments Add Comment

सागका विजेता खेलाडीको गुनासो– पदक जित्नभन्दा सरकारी पुरस्कार पाउन गाह्रो भो

५ चैत, काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोनाले देश तथा विदेशमा पारेको असरमाथि आज पनि दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक नाम चयन गर्न प्रदेश २ लाई परेको सास्ती र दक्षिण एसियाली खेलकुदमा सफलता दिलाउने खेलाडीले घोषित पुरस्कार प्राप्त गर्न नसकेको विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।

दक्षिण एसियाली खेलमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीले प्रधानमन्त्रीद्वारा घोषित पुरस्कार नै नपाएकोबारे नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचारअनुसार, ऐतिहासिक सफलता दिलाएर वाहवाही पाएका खेलाडी अहिले पुरस्कार रकमका लागि धाइरहेका छन् ।

नयाँ पत्रिका लेख्छ– प्रतियोगिता सकिएको भोलिपल्ट बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नगद पुरस्कार घोषणा गरेका थिए । तर, सो पुरस्कार चार महिनासम्म नपाउँदा खेलाडी निराश छन् ।

घोषित पुरस्कार नपाएपछि खेलाडीहरूले विदेशीलाई हराएर पदक ल्याउनभन्दा आफ्नै सरकारले घोषणा गरेको पुरस्कार पाउन गाह्रो भएको दुःखेसो गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सफलता हासिल गर्दै आएको छिमेकी चीनले नेपाललाई आवश्यक पर्ने मेडिकल सामग्रीदेखि चिकित्सक टोलीसम्म सहयोग दिने भनेर गरेको प्रस्तावलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचारअनुसार, सहयोग प्रस्ताव गरेको चीनले चाहिने सामग्रीको व्यवस्थित सूची बनाउन आग्रह गरेको छ ।

प्रदेश २ का लागि प्रस्तावित चार नाममा मंगलबार मतदान भए पनि छिनोफानो हुन नसकेको अर्को खबर पनि कान्तिपुरमा छ ।

सत्तापक्ष समाजवादी र राजपा, प्रतिपक्ष नेकपा, कांग्रेस र पर्साका सांसद् राजेश्वरप्रसाद साहले प्रदेशसभामा दर्ता गरेका छुट्टाछुट्टै प्रस्तावमा दुई तिहाइ बहुमत नजुटेको हो ।

‘युरोप ठप्प’ शीर्षकमा अन्नपूर्णले कोरोना प्रभावित युरोप क्षेत्रको अवस्थाबारे समाचार बनाएको छ । युरोपमा संक्रमण तीव्र बनेपछि त्यहाँ विनाभिसा बसेका नेपाली संकटमा परेको समाचारमा उल्लेख छ ।

कोरोना त्रासपछि बजारमा देखिएको उपभोग्य वस्तुको अभावदेखि प्रदेश २ मा नाम छान्न परेको सकससम्मका सामग्रीलाई अन्नपूर्णले समेटेको छ ।

अपांगता हटाउन हातेमालो गरेका सरकार र गैससले पाँच वर्षमा २ अर्ब खर्चिन लागेको खबर नागरिकमा छ भने राजधानीले सेना र प्रहरीको सुडान मिसन रोक्का भएको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment