
५ चैत, गुल्मी । कोरोना भाइरसबारे जानकारी र उपचारको लागि गुल्मीका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गरिने भएको छ ।
जिल्लास्थित सम्पूर्ण पालिकाहरुले आवश्यक औषधि व्यवस्थापन र सचेतनामूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको हो ।
त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधि व्यवस्थापनलगायत आइसोलेसन वार्डको व्यवस्था गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यवस्थापन गर्ने निर्णय भएको छ ।
रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ ।
छिमेकी मुलुक भारतबाट सिधैं गुल्मी आउने सवारीसाधनका यात्रुलाई रिडीको हेल्प डेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको जिसस प्रमुख पराजुलिले बताए ।
महोत्सव स्थगित
जिल्लाको कृषि, पर्यटन एबम् व्यापारलाई प्रर्बद्धन गर्ने उदेश्यले गर्न लागिएको चौंथो गुल्मी महोत्सव स्थगित भएको छ ।
विश्व व्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै महोत्सव स्थगित गरिएको आयोजकले जानकारी दिएको छ ।
सदरमुकाम तम्घासमा आगामी चैत २१ गतेदेखि २०७७ वैशाख १ गतेसम्म महात्सव सञ्चालन गर्ने तय भएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले मेला महोत्सव नगर्ने निर्णय गरेको हुँदा स्थगित गरिएको उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
महोत्सव केही समयपछि अनुकुल समय मिलाएर गरिने उनको भनाइ छ ।
प्रतिक्रिया 4