Comments Add Comment

कोरोनाविरुद्ध लड्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पौडेल

५ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले कोरोना संक्रमण हुन नदिन सचेतनाका लागि प्रदेशका विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरिएको बताए ।

कोरोनाको संक्रमण फैलन नदिन जनशक्ति समेत तयारी अवस्थामा रहेको मुख्यमन्त्रीले बताए । प्रदेशभरिका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

सशस्त्र प्रहरी बलसंगको समन्वयमा ४० शैय्याको आइसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

बैठकमा दुई विधेयक पेश

बागमती प्रदेश सभाको बैठकमा दुई विधेयक पेश भएको छ ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट दफावार छलफलपछि समिति सभापति घनश्याम दाहालले प्रवेदनसहित प्रदेश युवा परिषद गठनसम्बन्धी विधेयक बैठकमा पेश गरेका हुन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरेका थिए । गत भदौ ११ गते प्रदेशसभाबाट पारित ऐन कार्यान्वयनमा नगई संशोधन गर्न थालिएको हो ।

सूचनाको हकसम्बन्धीको संशोधन विधेयकमाथि बुधबार सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिदै सांसद रमेश पौडेलले सरकारले हतारमा विधेयक ल्याउने र प्रदेशसभामा पर्याप्त छलफल नगराई हतारमै पास गर्दा ऐन कार्यान्वयनमा नजादै संशोधन गर्नुपर्ने समस्या भएको बताए ।

सांसद नरोत्तम वैद्यले सरकारको अपरिपक्व कामले गर्दा संसदको काम ऐन संशोधन मात्र गरिरहने भएको बताए । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सूचनाको हकसम्बन्धी ऐन प्राविधिक त्रुटिका कारण संशोधन गर्नुपरेको बताए ।

ऐनको दफा ११ र १२ मा राखिएको योग्यता सम्बन्धि बुँदा एकअर्कामा बाझिएकोले संशोधन नगरी कार्यान्वयनमा जान नसक्ने भएकोले प्रदेश सभामा ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment