Comments Add Comment

भिडियो बजारमा कोरोना त्रासः कामविहिन बने कलाकारदेखि प्राविधिक

कोरोनाको त्रासका कारण सरकारले सिनेमा हल, रंगशाला, जिम, हेल्थ क्लब लगायत बन्द गर्न आदेश दिइसकेको छ । योसँगै आजबाट देशभरका सिनेमा हल बन्द भएका छन् । सरकारले, २५ जना भन्दा बढि भेला नहुन पनि आग्रह गरिरहेको छ ।

यसको प्रत्यक्ष प्रभाव म्युजिक भिडियोलाई पनि परेको छ । कतिपय सेड्युल बनिसकेका भिडियोको सुटिङ सार्नु परेको निर्देशकहरु भनाई छ । कलाकार तथा प्रविधिकहरु आम्दानीको स्रोत नै ठप्प हुँदा गाह्रो हुने बताउँछन् ।

भिडियो निर्देशक शान थापा अहिले खाली बसेका छन् । सरकारबाट २५ जना भन्दा बढी भेला नहुनु भन्ने आदेश आएपछि उनले आफ्नो सम्पूर्ण छायांकन सेड्युल स्थगन गरेका छन् । शान भन्छन्–‘हामीले केही दिनदेखि छायांकन नै गरेका छैनौ । हामी त कामबिहिन अवस्थामा छौ । दर्जन बढी भिडियोको सुटिङ सेड्युल नै बिग्रिएको छ । यसले त ठुलै घाटा लगाएको छ ।’

त्यस्तै, अर्का निर्देशक गम्भिर विष्टले अर्को साताको लागि ३ वटा भिडियो छायांकनको सेड्युल तयार गरेका थिए । उनी अब छायांकन गर्ने वा नगर्ने दोधारमा छन् । आफ्नो भिडियोमा धेरै कोरस हुने भएकाले काम गर्न गाह्रो हुने उनले बताए ।

गम्भिरले भने–‘गरिखाने भाँडो नै यही भएकाले काम त गर्नैपर्यो । कोरस नराखी गर्न मिल्ने भिडियोहरु भयो भने उच्च सतर्कता अपनाएर छायांकन गर्ने योजना छ ।’

निर्देशक शिव बीक भने आज छायांकन सेटमा नै छन् । आज उनले नयाँ गीतको छायांकन गरिरहेका छन् । शुक्रबारबाट भने उनले कुनै गीतको छायांकन सेड्युल राखेका छैनन् । दुई जना मात्रै राखेर गर्न मिल्ने भिडियो भए सावधानी अपनाएर छायांकन गर्ने शिबको सोच छ ।

छायांकन नहुदाँ त्यसको प्रत्यक्ष प्रभाव प्राविधिकहरुलाई बढी पर्ने शिव बताउँछन् । उनले भने–‘यहाँ त कोठाभाडा तिर्नै मुश्किल हुनेहरु पनि हुनुहुन्छ । उहाँहरुले काम नपाउँदा त पक्कै असर गरिहाल्छ नि ।’ सरकारबाट नयाँ सुचना नआएसम्म कुनै पनि भिडियो छायांकन नगर्ने शिब बताउँछन् ।

म्युजिक भिडियोमा व्यस्त छायांकार अर्जुन तिवारी पनि अब कुनै पनि भिडियोको सेड्युल नभएको बताउँछन् । उनले भने–‘सरकारले नगर्नु भनेर मात्र हामी रोकिने होइन । हामी त आफ्नै लागि पनि सुरक्षित हने हो । त्यसैले भोली राखिएको सेड्युल पनि हामीले स्थगित गरेका छौ ।’

छायांकन बन्दा हुँदा बेरोजगार बन्न पुगेका हरेकलाई असर हुने अर्जुन बताउँछन् । उनले भने,–‘अझ इक्युमेन्ट हाउस चलाउनेहरुलाई त भाडा मात्रै तिर्नु पर्दा झनै गाह्रो हुन्छ । यो बेला सरकारले कोठाभाडामा ५० प्रतिशत छुट गरिदिने हो भने साच्चिकै राम्रो हुने थियो ।’

त्यस्तै मोडल अन्जली अधिकारी अहिले आफू बेरोजगार भएको बताउँछिन् । मेला–महोत्सवदेखि छायांकसम्म ठप्प भएको उनको गुनासो छ । उनले भनिन्–‘अहिले त कलाकारहरु बेरोजगार नै भएका छन् ।’
यसले कलाकारहरुको आम्दानीमा निकै असर गरेको उनको भनाई छ । अन्जली थप्छिन्–‘तर, पैसा मात्रै ठुलो कुरा होइन । आफू स्वस्थ भएपछि पैसा त पछि पनि कमाउन सकिन्छ ।’ अन्जली फुर्सदको समय भएका कारण आफ्नो गाउँ फर्किने तयारीमा छिन् ।

त्यस्तै म्युजिक भिडियोमा व्यस्त बनिरहेका मोडल सागर लम्साल ‘बले’ घरबाट बाहिर निस्किएका छैनन् । कोरोनाको कारण कुनै काम नहुदाँ उनी घरभित्र नै छन् । कोरोनाले छायांकनमा मात्र नभएर भिडियो रिलिजमा पनि असर गरेको सागरले बताए ।

उनले भने–‘मेरो ५ वटा भिडियोको रिलिज रोकिएको छ । अहिले त कोरोना बाहेक केही पनि नचल्ने भएकाले गायकहरु डराएर भिडियो हाल्नुभएको छैन ।’

सागरले ३ वटा गीतको छायांकनको लागि समय दिएका थिए । तर, त्यो पनि अहिले स्थगित भइसकेको छ । अब सरकारबाट नयाँ सुचना नआएसम्म सागर काम गर्ने पक्षमा छैनन् । आम्दानी बीनाको खर्चमात्र हुदाँ गाह्रो हुने सागरको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment