७ चैत, काठमाडौं । कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड छ ।
बालबालिकाको परीक्षा सकिएसँगै कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर हैरानी भोगिरहेका छन् ।
बिहीबार मात्रै नयाँ बसपार्कबाट ९ हजारले टिकट काटेका थिए । शुक्रबार यात्रुको संख्या अझ धेरै बढेको बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले जनाएको छ ।

चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्ने क्रम पनि सुरु भएको हो । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्ने क्रम सुरु भएको हो । दशैंसहित यात्रुको चाप भएका समयमा यातायात व्यवसायीले विगतमा पनि यसैगरी बढी भाडा असुल्ने गरेका थिए ।
महेन्द्रनगर जान लागेका प्रितम पाण्डे आफूले दुई गुणा बढी भाडा तिर्नुपरेको गुनासो गरे । सिट नभएको बाहना गरेर आफूसँग दोब्बर भाडा असुल्दा पनि बाध्य भएर यात्रा गर्नपरेको उनको भनाइ छ ।

‘दलालले दोब्बर भाडा दिए सिट मिलाइदिन्छु भने, आफूलाई जानु नै छ,’ उनी भन्छन्, ‘यहाँ रोकिएर बस्नुभन्दा मागेजति तिरेरै जानु ठीक लाग्यो ।’
विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा व्यवसायीले भीड बढेको मौका छोपेर यात्रुलाई ठग्न सुरु गरेको बताउँछन् ।
‘यस्तो संकटको समयमा पनि छोडेनन्,’ उनी भन्छन्,’न अनुगमन गर्न यातायात विभागका प्रतिनिधि छन्, न ट्राफिकले अनुगमन गरेको छ । यात्रुलाई पनि जति तिरेर भएपनि जान्छु भन्ने भएको छ ।’
यातायात व्यवसायीहरु भने केही दिनदेखि यात्रु घटेर धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । मोफसलका ग्यारेजमा बस थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज बन्ने उनीहरुको दावी छ ।

नयाँ बसपार्क व्यवस्थापनले पनि पश्चिमी रुटमा बस नपाउने समस्या रहेको बताएको छ । त्यसैकारण बहिरबाट बस आएकै दिनमा यात्रु लिएर फर्काउन सुरु गरिएको र यसले यात्रुलाई सहजै गन्तब्यमा पुग्ने सहज वातावरण बन्ने विश्वास बसपार्क व्यवस्थापनको छ ।
चाप बढेपछि काठमाडौंमा चल्ने बस पनि रिजर्भ गरेर यात्रु ओसार्न सुरु गरेका छन् । सरकारले वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेको छ । यसरी रिजर्भमा जाने बसहरुले पनि यात्रुलाई अप्ठेरोमा पारेर चर्को भाडा असुलिरहेका छन् ।
कतिपय रुटमा पर्याप्त बसको अभाव भएपछि यात्रु उभिएरै जान थालेका छन् । क्याबिनको सिटमा पनि महंगो भाडा लिने मात्रै हैन, मुडामा बसालेर पनि यात्रु ओसर्ने क्रम सुरु भएको छ । यसले गर्दा संक्रमण फैलने जोखिम पनि उच्च भएको छ ।
गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, कलंकी, चाबहिल, बालाजु, लगायतका क्षेत्रमा रहेका बस काउन्टरहरुले पनि यात्रुसँग बढी भाडा असुलिरहेका भन्दै उपभोक्ता अधिकारकर्मी थालो अनुगमन तीव्र बनाउन र काहरवाही थाल्न सरकारसँग आग्रह गरेका छन् । बसहरुमा मात्रै हैन, बल्खु, कोटेश्वर, कलंकी र बालाजुका सुमोहरुले पनि यात्रुसँग बढी भाडा असुल्न थालेका छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
    
    
    
    
    
                
प्रतिक्रिया 4