News Summary
Generated by OK AI. Editorially reviewed.- ‘ह्यारी पोटर’ सिरिजको पहिलो सिजन ‘ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन’ सन् २०२६ को २५ डिसेम्बरमा एचबीओमा प्रिमियर हुने भएको छ।
जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित रहनेछैन, सिरिजका रूपमा पनि दर्शकमाझ आउने भएको छ ।
यसको पहिलो झलक सार्वजनिक भएसँगै पुराना प्रशंसकमा उत्साह थपिएको छ । अझ रोचक कुरा, निर्माताले सिरिजको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् ।
२५ डिसेम्बरमा प्रदर्शन हुने
निर्माताका अनुसार ‘ह्यारी पोटर’ सिरिजको पहिलो सिजनको नाम ‘ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन’ राखिएको छ । यो सिरिज सन् २०२६ को क्रिसमस अर्थात् २५ डिसेम्बरमा एचबीओमा प्रिमियर हुनेछ । एचबीओ म्याक्स उपलब्ध रहेका देशमा दर्शकले त्यही प्लेटफर्ममार्फत सिरिज हेर्न सक्नेछन् ।

पहिलो सिजन आठ भागको हुनेछ । यसमा लेखक जेके रोलिङका पुस्तकमा आधारित ह्यारीको जादुमय संसारलाई टेलिभिजन सिरिजका रूपमा विस्तार गरिनेछ ।
यस्तो हुनेछ होगवाट्र्सको नयाँ रूप
निर्माताले सार्वजनिक गरेको झलकमा होगवाट्र्सको जादुमय विद्यालयलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ । विद्यालयका भव्य ढोका, घुमाउरा भर्याङ, ग्रिफिन्डरको साझा कक्ष र जादुमय वनस्पतिले भरिएको हरितगृहजस्ता दृश्य देख्न सकिन्छ ।
ह्यारी पोटरको संसारसँग परिचित दर्शकका लागि यी दृश्य पुराना सम्झना ताजा बनाउने खालका छन् । तर यसपटक पुस्तकमा वर्णन गरिएका केही यस्ता प्रसङ्ग पनि पर्दामा देखाइने अपेक्षा गरिएको छ, जुन अघिल्ला फिल्ममा विस्तृत रूपमा प्रस्तुत भएका थिएनन् ।
नयाँ कलाकार, जादु पुरानै
सिरिजमा ह्यारी पोटरको भूमिकामा डोमिनिक म्याकलफलिन, हर्मायोनी ग्रेन्जरमा अरबेला स्ट्यान्टन र रोन वेस्लीको भूमिकामा अलिस्टर स्टाउट देखिनेछन् । त्यस्तै, जोन लिथगोले एल्बस डम्बलडोर, जेनेट म्याकटियरले मिनर्भा म्याकगोनागल, पापा एस्सिएडुले सेभेरस स्न्याप र निक फ्रस्टले रुबियस ह्याग्रिडको भूमिका निर्वाह गर्नेछन् ।
फिल्ममा यी पात्रलाई देखिसकेका दर्शकका लागि नयाँ कलाकारले उनीहरूलाई कसरी जीवन्त बनाउँछन् भन्ने चासोको विषय हुनेछ ।
पुस्तकका सातै भागलाई सिरिजमा उतार्ने योजना
ह्यारी पोटरका सात पुस्तकलाई आधार बनाएर यसका अलग–अलग सिजन निर्माण गर्ने योजना छ । यसले पात्रहरूको जीवन, उनीहरूबीचको मित्रता, जादुको संसार र त्यसमा लुकेका रहस्यलाई फिल्मको तुलनामा थप विस्तारमा प्रस्तुत गर्ने अवसर दिनेछ ।
सिरिजकी लेखक तथा कार्यकारी निर्माता फ्रान्सेस्का गार्डिनर हुन् भने मार्क माइलोडले कार्यकारी निर्माताको जिम्मेवारीसँगै केही भाग निर्देशन गर्नेछन् ।
जेके रोलिङ पनि कार्यकारी निर्माताका रूपमा जोडिएकी छन् ।
निर्माताले सार्वजनिक गरेका झलक र प्रदर्शन मितिपछि दर्शकको उत्सुकता बढेको छ । विशेषगरी होगवाट्र्सको नयाँ रूप र परिचित पात्रलाई नयाँ कलाकारले कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा चासो देखिएको छ ।
अब सिरिजले पुस्तकका प्रशंसक र पुराना फिल्मका दर्शक दुवैको अपेक्षा कति पूरा गर्छ भन्ने हेर्न बाँकी छ ।
प्रतिक्रिया 4