Comments Add Comment

बुटवलमा २४ घण्टामा एक सय शैय्याको अस्पताल

बुटवल धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण शुरु

७ चैत, बुटवल । कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ ।

अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।

बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईृसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रबार बिहानैदेखि निर्माणस्थलमा खटिएको छ ।

निर्माण स्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् ।

बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करिब १०० शैय्याको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख सुवेदीले बताए ।

लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको रुपमा प्रयोग गरिएको हो ।

पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण गर्ने काम चलिरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

अहिले आइसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरबार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भइरहेको छ ।

बुटवलभित्रकै सरकारी तथा निजी अस्पतालहरुमा कोरोना संक्रमणका विरामीहरुको उपचारका लागि डेढ दर्जन भन्दा बढी आइसोलेसन शैय्या तयार रहेको दावी गरिए पनि कोरोनासंग मिल्दो लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले अन्यत्र पठाइदै आइएको छ ।

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार÷पाँच जना विरामी आउने गरेका छन् ।

बुटवलमा हाल आइसोलेसनका लागि ३४ शैय्या तयारी अवस्थामा रहेको प्रदेश ५ स्वास्थ्य निर्देशक डा विनोद गिरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment