
११ चैत, काठमाडौं । तस्वीरमा देखिएको दृश्य काठमाडौंको मुटु अर्थात्, नयाँ बानेश्वर, संसद भवन अगाडिको सडकको हो । समय– मंगलबार बिहान पौने ८ बजे ।
सरकारले छोटो सूचनाका आधारमा मंगलबार बिहान ६ बजेदेखि १८ गते साँझ ६ बजेसम्म लकडाउनको घोषणा गरेपछिको दृश्य हो यो ।
नयाँ बानेश्वर चोकमा पैदलयात्री, मोटरसाइकल चालक र अन्य गाडीहरु फाट्टफुट्ट आवत–जावत गरिरहेका देखिन्थे । कोही मानिस एक्स रे को रिपोर्ट बोकेर उभिएका देखिन्थे ।
सीमित संख्यामा रहेका प्रहरीहरुलाई मान्छे सम्हाल्न हम्मेहम्मे परिरहेको देखिन्थ्यो । उनीहरु रोकेर सोधपुछ गरिरहेका र यसरी हिँडडुल नगर्न आग्रह गरिरहेका थिए ।
अत्यावश्यक सेवा अन्तरगत पर्ने एम्बुलेन्स, फोहोर बोक्ने गाडी, बिरामी चढेका सवारी साधनहरु, पानी बोक्ने टं्याकर आदि सडकमा बिहानैदेखि गुडिरहेका देखिए भने कतिपय पैदल यात्रीलाई समेत प्रहरीले रोकेर सोधपुछ गर्दै कतिपयलाई फर्काइरहेको पाइयो ।
मानिसहरुलाई जरुरी परेर सडकमा निस्कनैपर्ने बाध्यताले गर्दा बानेश्वर चोकमा मानिसको गतिविधि पूर्णरुपमा रोकिएको पाइएन । यद्यपि, सुरक्षाकर्मीहरुले यात्रुलाई नरम ब्यवहार गरेर सम्झाइ बुझाइ गरेको पाइयो ।
बानेश्वर चोकमा एक प्रौढ महिला गाडीहरुमा लिफ्ट माग्दै थिइन्, सुरक्षाकर्मीले उनलाई सहयोग गर्न खोज्दै थिए ।
काठमाडौंका भित्री गल्लीमा मानिसको सामान्यतः चहल–पहल र हिँडडुल देखिए पनि सबैतिर सुरक्षाकर्मीहरु पुग्न सकेको देखिएन । सम्भवतः छोटो सूचनाका आधारमा बन्द गर्नुपरेकाले सरकारले कडाइ नगरेको हो कि ?
अत्यावश्यक समानहरु आवश्यक पर्ने भित्री गल्लीका किराना दोकानहरु फाट्ट फुटट् खुलेका कारण मानिसहरुलाई दैनिक उपभोग्य समान किनमेलमा आत्तिनुपर्ने अवस्था देखिएको छैन ।
सरकारले अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किई घरैमा बसेर कोरोना विरुद्धको लडाइँमा सहयोग गरिदिन आम जनतामा आग्रह गरेको छ । आज बिहान ६ बजेदेखि देशैभरि सुरु गरिएको लकडाउन चैत १८ गतेसम्म रहनेछ ।
नेपालमा कोरोनाका संक्रमित बिरामी देखिइसकेको अवस्थामा घर बाहिर ननिस्कन सरकारले गरेको आह्वान आम जनताकै स्वास्थ्यका लागि भएकाले आम नागरिकले आफैं नै घर बाहिर नजाने र आफूलाई जोखिममा नपर्नका लागि सोच्नुपर्नेमा बानेश्वरको दृश्य हेर्दा सडक चाहिँ पूर्णरुपमा चकमन्न हुने लक्षण खासै देखिएन ।
तथापि मुख्य सडकहरु प्राय खाली छन् । चोकका पसलहरु ठप्पै छन् । मूलतः लकडाउन पालना भएकै देखिएको छ ।
प्रतिक्रिया 4