News Summary
Generated by OK AI. Editorially reviewed.- नर्वेका फुटबल खेलाडी एर्लिङ हालान्डले ५० अन्तर्राष्ट्रिय गोल ४६ खेलमै पुरा गरी ५३ वर्षयताकै कीर्तिमान तोडे।
- हालान्डले म्यान्चेस्टर सिटीलाई पहिलोपटक सन् २०२२/२३ युईएफए च्याम्पियन्स लिग उपाधि जिताउन सफल भए।
- नर्वेले विश्वकप छनोटमा सबै ८ खेल जितेर ३७ गोल गर्यो र २८ वर्षपछि विश्वकप खेल्ने तयारीमा छ।
१० जेठ, काठमाडौं । उमेर ५ वर्ष, लङ जम्प १.६३ मिटर । उक्त कीर्तिमान छ, नर्वेका एर्लिङ हालान्डको नाममा ।
सन् २००६ मा हालान्डले गरेको १.६३ मिटर स्ट्यान्डिङ लङ जम्प हालसम्म विश्व कीर्तिमानको रुपमा छ । सानै उमेरदेखि नै चलायमान हालान्डलाई किशोरावस्थामै नर्वेको राष्ट्रिय ह्यान्डबल टोलीबाट पनि बोलाइएको थियो ।
हालान्ड उनै हुन्, जसले सन् २०१९ मा भएको फिफा यु–२० विश्वकप होन्डुरसमाथि एक्लैले ९ गोल गरे । तीव्र गतिमा दौड्ने उनी फिफा विश्वकप २०२६ मा प्रभाव छाड्न सक्ने खेलाडीमध्ये एक हुन् ।
अचानक विश्व फुटबलमा चम्किएको खेलाडी हुन्, हालान्ड । १५ वर्षको उमेरमै नर्वेको क्लब ब्राइनबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसपछि उनले एक वर्षपछि मोल्डे क्लबका लागि पहिलो खेलमै गोल गरे ।
सन् २०१९ मा भएको फिफा यु–२० विश्वकपमा होन्डुरसमाथि नर्वेले १२–० शानदार जित निकाल्यो । उक्त खेलमा हालान्ड एक्लैले ९ गोल गरेका थिए ।
सन् २०२० मा बोरुसिया डर्टमन्डमा आबद्ध भएका उनले सन् २०२१ मा डीएफबी–पोकलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । उनले डर्टमन्डका लागि कुल ८९ खेलमा ८६ गोल गरे ।
हालान्डले म्यान्चेस्टर सिटीलाई पहिलोपटक सन् २०२२/२३ सिजनको युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन सफल भए । उक्त सिजनमा उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बने । आफ्नो पहिलो तीन सिजनमै म्यान्चेस्टर सिटीलाई दुई पटक प्रिमियर लिगको उपाधि जित्न सफल भए ।

हालान्डले बोरुसिया डर्टमन्डका लागि आफ्नो पहिलो पाँच गोल ५६ मिनेटभित्र गरेका थिए । त्यसपछि उनले ५० खेलमै ५० गोल पूरा गर्दै सन् १९६५ मा टिमो कोनिएत्स्काले बनाएको ५० खेलको पुरानो कीर्तिमान तोडे । पछि यो उपलब्धिलाई ह्यारी क्यानले पार गरे ।
म्यान्चेस्टर सिटीमा आफ्नो पहिलो सिजनमै हालान्डले प्रिमियर लिगमा एक सिजनमा सर्वाधिक ३६ गोल गर्ने नयाँ कीर्तिमान बनाए । साथै, उनले सबैभन्दा छिटो ५० र १०० प्रिमियर लिग गोल गर्ने खेलाडीको रेकर्ड पनि बनाए ।
उनले ५० गोलका लागि ४८ खेल र १०० गोलका लागि १११ खेल मात्र खेले । यसअघि यी कीर्तिमान एन्डी कोल (६५ खेल) र एलन शियरर (१२४ खेल) का नाममा थिए । युईएफए च्याम्पियन्स लिगमा हालान्डले ४९ खेलमै ५० गोल पूरा गरेका थिए । यसले रुड भ्यान निस्टेलरोयले ६२ खेलमा बनाएको पुरानो रेकर्ड तोड्यो ।
हालान्डले नर्वेका लागि ४६ खेलमै ५० अन्तर्राष्ट्रिय गोल पूरा गरे । यस उपलब्धिसँगै उनी ५० भन्दा कम अन्तर्राष्ट्रिय खेलमा ५० गोल गर्ने ५३ वर्षयताका पहिलो खेलाडी बने । उनले पाउल निल्सन, गर्ड मुलर, फेरेंक पुस्कस, सान्डर कोसिस र पेले जस्ता महान खेलाडीहरूसँग बराबरी गरे । सन् २०२५ मा हालान्डले ९ खेलमा १७ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता बने । उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ६ गोलले अगाडि थिए ।
नर्वेको विश्वकप इतिहास
नर्वेले सन् १९३८ मा पहिलो पटक फिफा विश्वकप खेलेको थियो । प्रतियोगितामा कमजोर टोली मानिए पनि नर्वेले साविक विजेता इटालीसँगको खेल अतिरिक्त समयसम्म पुर्याएको थियो ।
त्यसपछि नर्वे ५६ वर्षपछि १९९४ मा विश्वकपमा छनोट भयो । मेक्सिको, रिपब्लिक अफ आयरल्याण्ड र इटालीसँग अंक र गोल अन्तर बराबरी भएपनि कम गोल गरेको आधारमा समूह चरणबाटै बाहिरियो ।
त्यसपछि ४ वर्षपछि १९९८ मा भएको विश्वकपमा नर्वेले उत्कृष्ट प्रदर्शन गर्यो । ब्राजिललाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । अन्तिम १६ मा इटालीसँग पराजित हुँदा नर्वेको विश्वकप यात्रा टुंगिन पुग्यो । त्यसपछि छनोट हुन नसकेको नर्वे २८ वर्षपछि विश्वकप खेल्ने तयारीमा छ ।
विश्वकप छनोटमा नर्वेले इटालीलाई घरेलु तथा अवे दुवै खेलमा हराएको थियो । टोलीले सबै ८ खेल जित्दै ३७ गोल गर्यो र केवल ५ गोल मात्र खायो । हालान्डको नेतृत्वमा रहेको यस टोलीमा विंगब्याक जुलियन रायरसन, मिडफिल्डर स्यान्डेर बेर्ज, प्लेमेकर मार्टिन ओडेगार्ड, विंगर एन्टोनियो नुसा पनि छन् ।
प्रतिक्रिया 4