Comments Add Comment

स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री देऊ : विवेकशील दल

११ चैत, काठमाडौं । विवेकशील नेपाली दलले कोरोना भाइरसको संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै उक्त दलले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री अझै नपाउनु लज्जाको विषय र हेलचेक्र्याई हो भन्दै तत्काल ध्यान पुर्‍याउन माग गरेको हो ।

विवेकशीलले कोरोना भाइरस रोकथामका लागि अबको बाटो भनेको ब्यापक मात्रामा स्वास्थ्य परीक्षण गर्नु नै रहेको बताएको छ ।

‘अबको बाटो भनेको व्यापक परीक्षण गरेर अघि बढ्ने हो । हामीले यो रोगसँग लड्दै गरेका अन्य देशहरुबाट सिक्न ढिला गर्नुहुँदैन । यस परिप्रेक्ष्यमा अहिलेसम्म नेपालमा जम्माजम्मी ६०० जनाभन्दा कममा कोरोना भाइरसको संक्रमणको परीक्षण गरिएको छ जुन एकदमै न्यून होु उपाध्यक्ष अजिता राईले विज्ञप्तिमार्फत भनेकी छन् ।

विवेकशीलले कोरोना संक्रमणको परीक्षणलाई कम्तीमा प्रदेश र जिल्लास्तरसम्म पुर्‍याउन ढिला नगर्न पनि माग गरेको छ । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट मात्रै भइरहेकोमा आवश्यक प्राविधिक मापदण्ड बनाई परीक्षणमा संलग्न हुनेलाई तालिम तथा व्यक्तिगत सुरक्षाका सामग्री दिई परीक्षणलाई विकेन्द्रित गर्न आग्रह गरेको छ ।

त्यस्तै भारतलगायत संसारभर अलपत्र परेका नेपालीलाई सिमाना तथा विमानस्थलमा उचित परीक्षण गरी क्वारेन्टाइनमा राख्न पनि विवेकशील साझाले सरकारसँग माग गरेको छ ।

कमजोर आय भएका नागरिकहरु, साना व्यवसायहरूलाई यस संकटसँग जुध्नको लागि सरकारले सहयोगको प्याकेज तत्काल सार्वजनिक गर्न पनि विवेकशील दलले माग गरेको छ ।

संघ एवं प्रदेश सरकारहरुले सांसदलाई छुट्याएको बजेट कोरोना महामारीको आपत्कालीन प्रतिकार्य तथा व्यवसायहरू र न्यून आय भएका नागरिकहरूलाई राहत उपलब्ध गराउन प्रयोग गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै विवेकशील दलले कोरोना रोकथामका लागि आफूहरु खटिने भन्दै सरकारले आवश्यक तालिम दिएर खटाउन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment