Comments Add Comment

कोरोनाबाट संक्रमित १ लाख बढी निकोभए

१२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभरका ४ लाख २२ हजार ६ सय १४ मानिस संक्रमित बनेका छन् । कोरोना भाइरस देखापरेको झण्डै ४ महिनाको अवधिमा विश्वका १९७ मुलुकका यति धेरै मानिस संक्रमित बनेका हुन् ।

कोरोनाको उद्गमस्थल चीनमा सबैभन्दा धेरै कोरोना संक्रमित छन् । हालसम्म यहाँका ८१ हजार २ सय १८ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, चीनमा कोरोना नियन्त्रण उन्मुख छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ कोरोना संक्रमितको ज्यान गएको र ४७ जना नयाँ बिरामी भेटिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इटली मृत्युका हिसाबले अत्यधिक कोरोना प्रभावित मुलुक हो । हालसम्म यहाँका ५ हजार २ सय ४९ मानिस यो भाइरसको सिकार बनिसकेका छन् । मंगलबार एकै दिन ७४३ को ज्यान गयो भने ५ हजार २ सय ४९ नयाँ बिरामी अस्पतालको सम्पर्कमा पुगेका छन् । इटलीमा ६९ हजार १ सय ७६ जनामा कोरोनाको संक्रमण भेटिएकोमा ३ हजार ३ सय ९३ को अवस्था गम्भीर रहेको बताइएको छ ।

कोरोना संक्रमित व्यक्ति निको नहुने गलत बुझाइका कारण विश्व त्रस्त छ, तर स्वास्थ्यलाभ गर्ने कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ

अमेरिकाको कोरोना संक्रमणदर विश्वकै उच्च छ । पछिल्लो २४ घण्टामा यहाँ ११ हजार ७४ नयाँ बिरामी फेला परेका छन् । योसँगै अमेरिकाको कुल संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ । ज्यान गुमाउनेको संख्या भने ७ सय ७५ पुगेको छ । मंगलबार २ सय २२ कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएपछि मृतकको संख्या थप बढेको हो ।

स्पेनमा पनि कोरोना नियन्त्रणबाहिर छ । मंगलबार एकैदिन यहाँ ६ सय ८० मानिसको ज्यान गएपछि कुल मृतकको संख्या २ हजार ९ सय ९१ पुगेको छ । यहाँ एक दिनमै ६ हजार ९ सय २२ नयाँ बिरामी भेटिएका छन् । स्पेनको कुल कोरोना संक्रमित भने ४२ हजार ५९ छन् । यीमध्ये २ हजार ६ सय ३६ को अवस्था गम्भीर छ ।

जर्मन, फ्रान्स, स्विट्जरल्यान्डदेखि मध्यपूर्वको देश इरानसम्मका देश सन् २०१९ को अन्त्यमा विकसित भएको नयाँ भाइरसका कारण आक्रान्त छन् ।

१ लाखभन्दा बढी रिकभर

कोरोना संक्रमित व्यक्ति निको नहुने आम बुझाइ व्याप्त छ । यही बुझाइका कारण विश्व त्रस्त छ । तर, स्वास्थ्यलाभ गर्ने कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । वर्ल्डओमिटर्सका अनुसार, विश्वका १ सय ९७ देशमा भेटिएका ४ लाख २२ हजार संक्रमितमध्ये १ लाख ८ हजार ८ सय ७९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

कोरोना संक्रमितको उपचारमा चीनले उल्लेख्य उपलब्धि हासिल गरेको छ । संक्रमण भेटिएका ७३ हजार ६ सय ५० मानिसलाई निको तुल्याउँदै घर फर्काउन चीन सफल बनेको हो ।

कोरोनाबाट ग्रसित अन्य मुलुकले भने यसमा उल्लेख्य उपलब्धि हासिल गर्न सकेका छैनन् । चीनपछि धेरै मानिसको ज्यान गएको इटलीबाट ८ हजार ३ सय ३६ मानिसले स्वास्थ्यलाभ गरेका छन् । ५४ हजार ८ सय ८ संक्रमित रहेको अमेरिकाले ३ सय ७८ मानिसलाई मात्रै निको पार्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment