Comments Add Comment

पानी प्रशोधन केन्द्रको पोखरीमा डुबेर एक जनाको मृत्यु

१२ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ छपकैया नयाँ बस्तीस्थित वेष्ट वाटर ट्रिटमेन्ट प्लाण्टको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

कालिका कन्ट्रक्सनमा कार्यरत छपकैया घर भएका वेल्डिङको काम गर्ने ५५ बर्षका राजेन्द्र साह सोनारको मृत्यु भएको हो ।

महानगरभित्रका घर र नालाबाट उत्सर्जन हुने फोहोर पानी प्रशोधनका लागि महानगरपालिकाले नयाँवस्तीमा ट्रिटमेण्ट प्लान्ट बनाएको छ ।

ट्रिटमेन्ट प्लान्टमा पानी भण्डारण र प्रशोधनका लागि ४ वटा पोखरी खनिएका छन् । ट्रिटमेन्ट प्लान्टका सुपरभाइजर गोविन्द चिमोरियाका अनुसार बुधबार मध्यान्ह १२ बजेतिर राजेन्द्र प्लान्ट क्षेत्रमा प्रवेश गरेका थिए ।

मंगलबारदेखि नै काम बन्द भएका कारण त्यहाँ अरु कोही पनि थिएनन् । मोबाइलमा रेडियो बजिरहेको, चप्पल पनि सँगै देखिएको तर सोनार नदेखिएपछि उनको खोजी शुरु भएको थियो ।

वेष्ट वाटर ट्रिटमेन्ट प्लान्टको ३० फिट गहिरो पोखरीमा सोनारको शव भेटिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।

खैनीको डिब्बा खसेको र निकाल्ने क्रममा उनी डुबेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । ‘पोखरीमा खैनीको बट्टा पनि भेटिएको छ । खैनी माड्ने क्रममा बट्टा खसेको र झिक्न जाने क्रममा उनी डुबेको हुन सक्ने अनुमान गरेका छौं’ उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

पोखरीमा मानिस डुबेको बारे प्रहरीले २ बजेतिर खबर पाएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा मिलेर पौने ४ बजेतिर पोखरीबाट शव निकालेका थिए । सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment