Comments Add Comment

कर्णालीमा कोरोना उपचारका लागि ३ अस्पताल तोकियो

१३ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले उक्त कामका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १/१ करोड रुपैयाँ र चौरजहारी अस्पताललाई ५० लाख रुपैयाँ पनि दिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

बैठकले कोषमा सहयोग गर्न जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी व्यवसायी र अन्य इच्छुक व्यक्ति र संघसंस्थालाई अपिल गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि नेपाल सरकारसँग माग गर्ने र तत्काल उपलब्ध नभए आफैं खरिद गर्ने निर्णय पनि गरेको मन्त्री केसीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment