Comments Add Comment

मनास्लु पदमार्गबाट २२ पर्यटकको उद्धार

१३ जनाको उद्धारको तयारी

फाइल तस्वीर

१४ चैत, गोरखा । लकडाउन भएसँगै गोरखाको मनास्लु पदमार्गमा अलपत्र परेका पर्यटकको उद्धार सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म २२ जनाको उद्धार भइसकेको छ । अर्जेन्टिनाका ५, अष्ट्रेलिया, जर्मनी, क्यानडा र कोरियाका ३/३ जना नागरिकको उद्धार भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए ।

उनका अनुसार डेनमार्कका २, फ्रान्सका १ र अन्य मुलुकका २ जनाको पनि उद्धार भइसकेको छ । ‘एक जनाको हेलिकप्टरमार्फत उद्धार भयो,’ उनले भने, ‘बाँकीलाई सडकमार्गबाट काठमाडौ पठायौ ।’ आज पनि एक जना अस्ट्रेलियाली नागरिकलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको उनले बताए ।

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार पदमार्गमा अलपत्र परेका थप १३ जनाको उद्धार गर्ने तयारी भइरहेको छ । ‘सामागाउँमा ६, छेकम्पारमा ५ र ल्होमा २ जना पर्यटक छन् भन्ने जानकारी पाएका छौ, उहाँहरुलाई माछाखोलासम्म आउनु भनेका छौं, त्यहाँ आएपछि जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरेर काठमाडौं पठाउछौ,’ एमक्यापका गोरखा प्रमुख नरेन्द्र लामाले भने ।

अलपत्र परेका पर्यटककको खोजी र उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए । उनका अनुसार मार्च ८ देखि १५ सम्म ६८ जना विदेशी पर्यटक नागरिक मनास्लु पदमार्गमा गएका छन् । ‘उनीहरु मध्ये कति फर्किसके होलान्, केहीको उद्धार भइसक्यो, बाँकी खोज्दै छौं,’ उनले भने ।

मार्च १५ देखि मनास्लु संरक्षण क्षेत्रमा जान रोक लगाइएको छ । अनुमति लिएर आएका पर्यटकलाई पनि फिर्ता गरिएको उनले जानकारी दिए ।

पर्यटकको उद्धारका लागि आवश्यक समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘हेलिकप्टरबाट जान खोज्नेलाई हेलिकप्टर र सडकमार्गबाट जान खोज्नेलाई त्यही अनुसारको व्यवस्था मिलाएर पठाएका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment