Comments Add Comment

चिकित्सक संघले भन्यो : स्वास्थ्यकर्मीको सुरक्षालाई हल्का रुपमा नलेऊ

सरकारलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह

१४ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संघले आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक रस्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपालमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अन्य सुरक्षा सामग्री नहुँदा कोरोना भाइरसको सम्भावित संक्रमितको उपचार गर्न चिकित्सक र स्वास्थ्यकर्मीहरु डराइरहेका छन् ।

नेपालका चिकित्सकहरु कोरोना भाइरस रोकथाम र उपचारका लागि तयार रहेको भन्दै संघले आधारभूत सुरक्षा सामग्री भने उपलब्ध गराउनुपर्ने बताएको छ ।

संघले कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित भएका भन्दै विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।

‘संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन विमा, स्वास्थ्य विमा र विशेष विमाको व्यवस्था गरी मनोबल बढाउनसमेत नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष अनुरोध गर्दछ’ महासचिव बद्री रिजालले विज्ञप्तिमा भनेका छन् ।

चिकित्सक संघले स्वास्थ्य क्षेत्र नै संकटमा परेका बेला सरकारी र निजी अस्पताल तथा मेडिकल कलेजले नियमित ओपीडी सेवा बन्द गरी आकस्मिक सेवा र ज्वरो क्लिनिक सञ्चालन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment