Comments Add Comment

सिरियल पनि लकडाउन : पुरानै एपिसोड दोहोरिँदै

कोरोनाको कारण सिंगै विश्व त्रसित छ । नेपाल पनि यसबाट अछुतो छैन । सरकारले लकडाउन घोषणा गरेपछि त सबै कामहरु ठप्प छन् ।

मनोरञ्जन क्षेत्रको त झन् के कुरा गर्नु । चलचित्र घरहरु बन्द छन् । चलचित्रजन्य कामहरु शून्य छन् । टेलिभिजन र प्रशारण हुने हाँस्य टेलिश्रृङ्खलाहरुको प्रशारण पनि रोकिएको छ ।

बिहिबार हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’को पुरानो भाग प्रशारण भयो । लकडाउनका कारण नयाँ भागको छायांकन गर्न नसकेकाले पुरानो भाग नै दोहोर्‍याउनुपरेको निर्देशक÷कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

उनले भने, ‘कोरोनाको त्रास जो–कोहीलाई पनि छ । हामीलाई पनि छ । सरकारले नै लकडाउन गरेको समयमा हामीले कसरी छायांकन गर्न सक्छौँ र ? त्यसैले नयाँ भागहरु ल्याउन सक्ने अवस्था छैन ।’ परिस्थित सामान्य भएपछि मात्रै छायांकनमा जाने उनले बताए ।

सक्किगोनी रोकिदाँ दर्शकबाट आएको प्रतिकृया भने मिश्रित छ । अर्जुन भन्छन्, ‘कसैले रोकेर सुरक्षित रहनु छ ठिक हो भन्नुभएको छ । कसैले मास्क वा हेलमेट लगाएर भए पनि खिच्नु पर्थ्यो भन्नुभएको छ । त्यो हाम्रो लागि माया नै हो ।’

आज शुक्रबार ‘भद्रगोल’ प्रशारण हुने दिन हो । तर, ‘भद्रगोल’को पनि नयाँ भाग दर्शकले हेर्न पाउने छैनन् । पुरानो भाग रिपिट गरिने छ ।

भद्रगोलका निर्देशक अशोक धिताल ‘बाहुन डन’ भन्छन्, ‘नयाँ एपिसोड तयार गर्ने अवस्था नै छैन । अवस्था सामान्य नभएसम्म पुरानो एपिसोड नै आइरहन्छ ।’

त्यस्तै, हाँस्य टेलिश्रृङ्खला ‘हल्का रमाइलो’ पनि बन्द छ । छायांकन गर्ने माहोल नै नभएकाले हल्का रमाइलोको प्रशारण रोकिएको निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले बताए ।

कहिलेकाहीँ उनीहरुले केही भागहरु खिचेर ‘स्टक’ राख्ने गर्थे । तर, यो पाली भने उनीहरुले स्टक खिच्न पनि भ्याएनन् । मरिचमान भन्छन्, ‘हामीले पहिला पहिला त स्टक पनि खिचेका हुन्थ्यौँ । यहीँ बेला चाहीँ खिच्न पाएका थिएनौँ । फ्याट्टै लकडाउन भइदियो ।’

नयाँ एपिसोड ल्याउन नसकेको भन्दै मरिचमानले दर्शकसँग माफी पनि मागेका छन् ।

हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ भने अझै दुई हप्ता नियमित प्रशारण हुनेछ । ‘मेरी बास्सै’का दुई भाग स्टक छन् । निर्देशक मनराज श्रेष्ठले भने, ‘यो अवस्था आउँछ भन्ने लागेर नै मैले दुई भाग खिचेर राखेको थिए । अहिले त्यसले काम दिएको छ ।’

तर, पूरानो विषयबस्तुमा बनेकाले दर्शकले यसलाई मज्जा लिने कुरामा निर्देशक आफैँलाई शंका छ । उनले थपे, ‘नभएको मामा भन्दा त कानो मामा नै ठिक भनेजस्तै हो । त्यसलाई दर्शकले बुझ्नुहुन्छ होला ।’

हाँस्य टिभी शो ‘मुन्द्रेको कमेडी क्लब’ पनि ३ भागसम्म स्टक छ । त्यसैले दर्शकले नयाँ एपिसोड नै हेर्न पाउने कार्यक्रम सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले बताए ।

उनले भने, ‘हामीले शनिबार सिमित दर्शकलाई राखेर २ भाग खिचेका छौँ । पहिला पनि एक भाग स्टक थियो । त्यसैले ३ साताको लागि पुग्ने एपिसोड छन् ।’

३ हप्तापछि पनि अवस्था यस्तै रह्यो र खिच्न नसकेको खण्डमा मात्र शो बन्द हुने उनको भनाई छ । उनले थपे, ‘३ भाग प्रशारण भएपछि पनि खिच्न सकिएन भने चाहीँ बन्द गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment