Comments Add Comment

लकडाउन उल्लंघन गर्नु भो ? अब प्रहरीले उपकरणबाटै समात्नेछ

१४ चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग भने, ‘व्यक्तिलाई पक्राउ गर्दा ३ मिटर परबाटै समात्न सकिने गरी यो प्रयोगमा ल्याइएको हो ।’

प्रहरीले यो उपकरण हालै भित्र्याएको भने होइन । विगतमा पनि कुनै प्रकोप वा महामारीका बेला प्रयोग गर्न सकियोस् भनेर यसलाई ‘स्ट्याण्ड बाई’ राखिएको थियो ।

‘यो उपकरणको प्रयोग गरेर शुक्रबार मात्रै ५ जनालाई पक्राउ गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘बानेश्वर, गौशाला, सिनामंगल लगायतका क्षेत्रबाट लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरेका हौं ।’

यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुने उनले जनाए । थप उपकरणको आवश्यक परे अन्य पनि खरिद गर्न सकिने उनले बताए । यद्यपि, हाल नयाँ उपकरण खरिदको योजना भने नभएको पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment