Comments Add Comment

कोरोना संक्रमितको ट्राभल हिस्ट्री : दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी

१४ चैत, धनगढी । कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको बताएको थियो ।

स्रोतकाअनुसार उनको प्रारम्भिक ट्राभल हिस्ट्री लिइएको छ । जसअनुसार उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली आएका थिए । त्यसको भोलिपल्ट उनी भारतबाट काठमाडौं आए । तर, कुन विमानमा उनी आएका हुन् भन्ने खुलेको छैन ।

नेपालले चैत १ बाट खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान रोकेको थियो । तर, भारतले अनअराइभल भिसा पाउनेहरुलाई रोकेको थिएन भने नेपालले भारतबाट आउन रोकेको थिएन । त्यसैले दुबईमा रहेका उनी भारत हुँदै काठमाडौं आए ।

काठमाडौं आइपुगेको दिन उनी यहीँ बसे । त्यसको भोलिपल्ट बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगे । नेपालगञ्जबाट धनगढीसम्म सार्वजनिक बस चढेर पुगे ।

धनगढी उपमहानगर– ५ का उनको घरमा ८/९ जना थिए । घरमा पुगेको केही दिनमा ज्वरो आएपछि उनी ११ गते अर्का व्यक्तिले सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालले थ्रोट स्वाव संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । र, शुक्रबार अपराह्न उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी उनको घरमा पुगेको र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न भनेको छ । उनलाई अस्पताल पुर्‍याउने व्यक्तिको खोजी भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका पुरुषको भने प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment