Comments Add Comment

शिकार खेल्दा भरुवा बन्दुक पड्किएर युवकको मृत्यु

१५ चैत, काठमाडौं । दोलखामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामी छन् ।

कालिञ्चोक गाउँपालिका ६ लापिलाङस्थित कडेन हरियाली सामुदायिक वनअन्तर्गत छिरुवाखोला क्षेत्रमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएका थिए । तर अचानक पड्कँदा उनी घाइते भए । उनका परिवारले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याउँदै गर्दा थामीको बाटोमा नै मृत्यु भएको थियो ।

प्रहरीलाई भने जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएको सूचना दिइएको थियो । तर शवको अवस्था र घटना प्रकृति हेर्दा शंकास्पद लागेपछि थप अनुसन्धान गरेको थियो ।

अस्पतालमा शवको मुचुल्का बनाउने क्रममा थामीको तिघ्राभन्दा माथि गोली लागेको निशाना पाएपछि घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएको दोलखा प्रहरी निरीक्षक रेशम बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

थामीसँगै शिकार खेल्न गएका कालिञ्चोक गाउँपालिका-९ का ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थामी, ४५ वर्षीय वावुराम थामी र ३० वर्षीय बावु थामीलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।

अनुसन्धानको क्रममा छिरुवाखोला पुछारमा मृगको शिकार खेल्ने क्रममा भरुवा बन्दुक अचानक पडकिँदा थामी गम्भीर घाइते भएको खुल्न आएको उनले बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुले दिएको वयानका आधारमा सुक्राम सामुदायिक वनको भीरमा लुकाएर राखेको अवस्थामा ३ थान भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने छर्रा, बारुद, १ थान खुकुरी, १ थान गुलेली र ३ थान टर्चलाइट बरामद भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment