Comments Add Comment

स्वदेश फर्किन मान्दैनन् उद्दार गरिएका पर्यटकहरु

पोखरा र मुस्ताङबाट ४ सय पर्यटकको उद्दार

१५ चैत, पोखरा । लकडाउनका कारण अन्नपूर्ण पदमार्ग र आसपासका ठाउँमा अलपत्र परेका पर्यटकहरु पोखरा आइरहेका छन् । थोरङ ला पास र उपल्लो मुस्ताङ गएका पर्यटकहरु जोमसोम झरिरहेका छन् । आफ्नो मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएका कारण केही पर्यटक नेपालमै बस्न चाहन्छन् भने स्वदेश जान चाहने फर्किरहेका छन् ।

अलपत्र पर्यटकलाई अहिले दिनहुँ उद्दार गरी काठमाडौं र सम्बन्धित देशमा पठाउने काम भइरहेको छ । पोखरामा रहेका विभिन्न देशका पर्यटक शनिबार पनि जहाज चार्टर गरेर वा बसमार्फत् काठमाडौं गएका छन् । तीन वटा फ्लाइट र आठ वटा पर्यटक बसमार्फत् तीन सय २० पर्यटक शनिबार काठमाडौं पठाइएको हो ।

पोखरादेखि पर्यटकको उद्दार गरी श्री एयरलाइन्सको दुई फ्लाइट र यति एयरलाइन्सको एक फ्लाइट भएको छ । नेपाल पर्यटन बोर्डको पहलमा भएको श्री एयरलाइन्सको दुई फ्लाइटमा एक सय २० जना र जर्मन दूतावासले यति एयरलाइन्सको विमान चार्टर गरेर १८ जना पर्यटकलाई काठमाडौं लगेको पोखराका पर्यटन प्रहरी प्रमुख इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । आठ वटा पर्यटक बसमार्फत् एक सय ८० जनालाई काठमाडौं पठाइएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

अन्नपूर्ण क्षेत्र र आसपासका क्षेत्रबाट पोखरामा रहेका झण्डै साढे तीन सय पर्यटक शनिबार काठमाडौं लगिएको छ । यसअघि बिहीबार फ्रान्सेली दूतावासले ५९ जना नागरिकलाई बुद्ध एयरलाइन्स चार्टर गरेर पोखरादेखि काठमाडौं लगेको थियो ।

शुक्रबार ५८ जना पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको थियो । अहिले पनि विभिन्न ठाउँबाट आफ्नो देश फर्कन चाहने पर्यटक पोखरामा सम्पर्कमा आइरहेको पश्चिमाञ्चल होटल संघ हानका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

मुस्ताङबाट ५८ जनाको उद्दार

अन्नपूर्ण फेरो पदमार्गमा गएका, थोरङ पास गरेर जोमसोम आइपुगेका २१ जना पर्यटकलाई मुस्ताङदेखि शनिबार नै काठमाडौं पठाइएको छ । सात जना पोर्टर र गाइडसहित २१ देशका ५८ जना पर्यटकलाई पर्यटक बसमार्फत् जोमसोमदेखि काठमाडौं पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

‘हामीसँग विभिन्न देशमा ७० जना पर्यटक सम्पर्कमा आएका थिए । त्यसमध्ये ५८ जनालाई शनिबार पठाइएको हो,’ प्रजिअ अर्यालले भने, ‘अरु पनि सम्पर्कमा आउने क्रम जारी छ ।’ यसअघि बिहीबार मुस्ताङबाट एक सय २१ जना पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको थियो ।

केही पर्यटक नेपालमै बस्न चाहन्छन्

स्पेन, इटाली, अमेरिकाजस्ता देशमा कोरोना भाइरसको महामारी नै फैलिएको छ । ती देशको तुलनामा नेपाल धेरै सुरक्षित देखिएको छ । नेपाल घुम्न आएका विभिन्न देशका पर्यटक भने स्वदेश फर्कन चाहँदैनन् । केही पर्यटक आफ्नो देशभन्दा नेपाल नै सुरक्षित ठानेर यतै बस्न चोहको मुस्ताङका प्रजिअ अर्यालले जानकारी दिए ।

सम्पर्कमा आएका १२ जना जति पर्यटन स्वदेश फर्कनुभन्दा नेपाल नै बस्न चाहेर नगएको प्रजिअ अर्यालले जानकारी दिए । ‘युएस, जर्मन, इटाली, अस्ट्रेलिया, स्पेन लगायतका देशका केही पर्यटक स्वदेश फर्कन चाहेनन्,’ प्रजिअ अर्यालले भने, ‘उनीहरु केही समय नेपालमै सुरक्षित रुपमा बस्न चाहन्छन् ।’

पोखरामा आधिकारिक तथ्यांक नभए पनि स्वदेश फर्कन नचाहने थुप्रै पर्यटक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘घान्द्रुक, कोरिया, युएस, स्पेन लगायतका धेरै देशका पर्यटक अझै पनि केही समय नेपालमै बसेर वस्तुस्थिति हेर्छु भन्नेहरु पनि छन्,’ तुलाचनले भने, ‘उनीहरुमध्ये कतिपयको पहिले नै होटल बुकिङ थियो भने केहीले पछि पनि होटलको व्यवस्था गरेर बसेका छन् ।’

घान्द्रुक, घोरेपानी लगायतका ठाउँबाट शुक्रबार पोखरा आइपुगेका ५०/६० जना पर्यटकमध्ये पनि केही पर्यटकको अझै भिसा सकिएको छैन । उनीहरु यतै बस्छु भनेर बसेको अध्यक्ष तुलाचनले बताए । यहाँ रहेका पर्यटकलाई होटल व्यवसायी घरभित्रै सुरक्षित हिसाबले खाना खुवाउने र बस्ने प्रवन्ध मिलाएको तुलाचनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment