Comments Add Comment

इटालीमा रहेका नेपाली भन्छन् : यहाँको जस्तो गल्ती नेपालमा नहोस्

१५ चैत, बार्सिलोना । अरुबेला पर्यटकहरुले भरिभराऊ हुने इटाली अहिले गम्भीर संकटसँग जुधिरहेको छ । दैनिक रुपमा केही सय मानिसले ज्यान गुमाइरहेका छन् । पर्यटकहरु व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने शहरहरुमा अहिले मानिसहरुको शव सम्हाल्न मुस्किल छ । त्यहाँका दृश्यहरु कारुणिक छन् ।

डेढ महिना अगाडिसम्म इटालीमा यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पना गरेका थिएनन् । तर, डिसेम्बर अन्तिममा चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले इटालीमा युद्धग्रस्त मुलुकभन्दा पनि ठूलो संकटमा ल्यायो । शनिबार बिहानसम्म इटालीमा नौ हजार एक सय ३४ जनाको मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएका छन् ।

इटालीलाई समेत हेर्दै आएको स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासका अनुसार त्यहाँ एक हजार सात सय ३२ नेपाली छन् । हालसम्म कुनैपनि नेपाली कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएको नदेखिएको एनआरएनए इटालीले जनाएको छ ।

तर, एक महिनादेखि घरभित्रै बसेका नेपालीहरू मानसिक तनाव झेलिरहेका छन् । उनीहरु संक्रमणबाट बच्न सतर्क त छन् । तर, नेपाललाई लिएर चिन्तित पनि छन् । त्यसैले इटालीबाट नेपालले बेलैमा पाठ सिकोस् भन्ने चाहन्छन् ।

एक महिनादेखि इटालीमा होम क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुसँग बार्सिलोनामा रहेका अनलाइनखबरकर्मी वसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश ः

गोमा खरेल
मान्तोवा, इटाली

नेपालमा मेरो घर महेन्ऽनगर हो । झण्डै ४ वर्षदेखि इटालीको मान्तोवामा बसोबास गर्छु । परिवारसँगै छु । हामी फेब्रुअरी २५ बाट घरभित्र बस्न थालेको छौं । बाहिरको अवस्था भयावह छ । दिनकै ५/६ सय मानिसको मृत्यु भइरहेको छ । नयाँ संक्रमितको संख्या पनि त्यस्तै छ । त्यसले हाम्रो मनस्थितिलाई पनि खल्बल्याएको छ । तर, हामी स्वस्थ्य छौं । अत्यावश्यक काम परे मात्र बाहिर जान्छौं । बाहिर निस्कँदा सेनिटाइजर र मास्क लगाएर मात्र जान्छौं । बाहिरबाट घर फर्किएपछि लगाएको लुगा धोइहाल्ने गरेका छौं ।

सरकारले जुन १५ सम्म कुनै काम नगर्नु भनेर सूचना निकालेको छ । तर पुरानै दिनचर्यामा र्फकन २/४ महिना लाग्छ जस्तो लाग्छ । किनकी अहिले पनि नयाँ संक्रमित भेटिएका छन् । संक्रमित नथपिँदा पनि पुराना सबैलाई ठिक हुन समय लाग्छ ।

र, यहाँ कोरोनाको संक्रमण फैलनुको मुख्य कारण भने लकडाउनमा पनि मानिसहरु घरमा नबस्नु नै हो । यो फैलिएको जनवरीतिर हो, जतिबेला कन्ट्रोल नै गरिएन । चीनबाट इटालीमा कति पर्यटक आए ? संक्रमणपछि पनि फुटबल खेलहरु किन भइरहे ? कसैले वास्ता गरेनन् । अहिले पनि मानिसहरु बाहिर निस्किने गरेका छन् । अत्यावश्यक कामका लागि बाहिर निस्कँदा पनि सर्छ कि जस्तो त्रास हुन्छ । नेपाली/नेपाली भेट्दा पनि डराउनु पर्ने अवस्था छ । पाँच मिनेटको दुरीमा नेपालीहरू हुनुहुन्छ, तर आउजाउ गरेका छैनौं । सुपरमार्केटमा छिर्दा पनि छिटोछिटो सामान लिएर निस्किहाल्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

अहिले नेपालमा पनि संक्रमण देखिन थालेको छ । नेपालमा अहिले जे सोचिरहेका छन्, त्यस्तै सोच्दा इटालीमा भयावह स्थिति आयो । त्यसैले लकडाउनको अवधिभर घर भित्र बसिदिनुहोस्, सेनिटाइजर र मास्क प्रयोग गर्नुस् । जति घरभित्र बस्यो, त्यति सुरक्षित भइन्छ । बाहिर निस्कनुपर्दा पनि सावधानी अपनाउनुस् । नभए इटाली र स्पेनको जस्तो स्थिति नआउला भन्न सकिन्न ।

घरभित्र बस्दा अत्यास लाग्छ । छिट्टै पहिलाकै अवस्थामा र्फकन पाए हुन्थ्यो भन्ने पनि लाग्छ । मेरो त सानो ७ महिनाको बच्चा छ, बच्चालाई लिएर भित्र बस्दा गाह्रो हुन्छ । बाहिर हिँड्न पाए, सपिङ गर्न पाए, रेस्टुरेन्टमा गएर खान पाए भन्ने लाग्छ । तर, सबै मनको इच्छा मारेर स्वास्थ्यको लागि बसिरहेको छौं । बच्चालाई चाहिने कपडाहरु पहिले नै जोहो गरेकाले समस्या भएको छैन । बरु पेपरको अभाव होला जस्तो छ । अब लाइन बसेर किन्नुपर्छ ।

विजय भुसाल
लेनियानो, इटाली

म मिलानबाट नजिकै लेनियानो भन्ने ठाउँमा छु । नेपालमा मेरो घर चितवन सौराहा हो, इटाली आएको १३ वर्ष जति भयो । अहिले कोरोना भाइरसको महामारीसँगै हामी होम क्वारेन्टाइनमा बसिरहेका छौं । छोरी पनि छिन्, आमा पनि हुनुहुन्छ । जति गाह्रो भएपनि हामी बाहिर निस्केका छैनौं ।

सपिङ गर्न जानु परे म एक्लै निस्कन्छु । सपिङ सेन्टरमा लाइनमा बस्नुपर्ने हुन्छ । केही दुरीमा लाइनमा बस्छु । सपिङ सेन्टर प्रवेश गर्नेबेला नै ज्वरो पनि नाप्छन् । तैपनि सपिङ गरेर फर्किसकेपछि केही दिनसम्म डर भइरहने गर्छ ।

आमा उपचारका लागि ४ वर्ष अगाडि आउनुभएको हो । बुबा चाहिँ नेपालमा हुनुहुन्छ । घर ठूलो भएकाले सबैलाई छुट्टाछुट्टै रुम उपलब्ध छ । तर, आमालाई घरभित्र बसिरहँदा गाह्रो भएको छ । त्यसैले यो कहिले सकिन्छ भनेर सोध्नुहुन्छ । सधैं यस्तै रहिरहृयो भने के गर्ने भन्नुहुन्छ । त्यसमाथि उहाँको यही महिना अप्रेसन हुनुपर्ने थियो । घुँडाको अपरेसन गर्न एक वर्षदेखि वेटिङमा थियौं, हस्पिटलले बोलाएको पनि थियो । भाइरसका कारण पछाडि धकेलियो ।

यो प्रकोप अब त घट्ला भन्यो, झन् बढेको छ । एक डेढ महिना यस्तै हुन्छ, जस्तो लाग्न थालेको छ । यसको कारण भनेको सुरुमा इटालियनहरुले लापरबाही गरेका हुन् । पार्टी, ग्यादरिङ गरिरहे । सरकारले पनि कडा नियम ल्याउन ढिलो गर्‍यो । जबकी यो भाइरस रोक्न सामाजिक दुरी कम गर्नुपर्ने रहेछ ।

अहिलेसम्म यहाँका सबै नेपाली सुरक्षित छन् । तर, कतिपयलाई अझैपनि काममा जानुपर्ने बाध्यता छ । पार्मामा रहेका एक सय ४० नेपालीले अझै काम गरिरहेका छन् । दुध, पास्ताहरू, सुगो उनीहरुकै उद्योगमा बन्ने भएकाले उनीहरुको काम पहिलाकोभन्दा अझ बढेको छ । बेलाबेला कुरा हुन्छ, सुरक्षित रुपमा काम गरिरहेको जानकारी दिइरहेका छन् ।

अहिले नेपालमा पनि कोरोना संक्रमणको एकाध केस देखिएको खबरहरु आएको छ । इटालीले गरेको कमजोरीबाट पाठ सिकेर नेपाल सरकार बेलैमा सचेत हुन जरुरी छ ।

सरकारले लकडाउन घोषणा गरेको छ, हामी जनताले पनि घरमा बसेर सहयोग गर्नुपर्छ । दिनभर घरमा बस्ने तर साँझ हुलबाँधेर बाहिर निस्किने गल्ती गर्नुहुन्न । भाइरसले बिहान, दिउँसो वा राति भन्दैन । र, यस्तो बेला नागरिकले सहयोग गरेन भने इटालीभन्दा पनि भयावह अवस्था भोग्नुपर्ने हुन्छ । म युवा छु, मलाई लाग्दैन भन्ने पनि नसोचौं । परिवारको ख्याल गरौं । भेटघाट बन्द गरौं, बरु अनलाइनबाट कुरा गरौं । हामीले पनि यहाँ नजिकै भएका नेपाली दाजुभाइहरुलाई पनि भेट्ने गरेका छैनौं । नेपालमा पनि यस्तै गरौं ।

बाबुराम श्रेष्ठ
भारजी, इटाली

नेपाल घर बुटबल हो । अहिले इटालीको भारजी भन्ने ठाउँमा छु । यो स्वीजरल्याण्डको बोर्डर साइटमा पर्छ । होम क्वारेन्टाइनमा बसेको २५/२६ दिनुभयो । मेरी श्रीमती पनि काममा जाने गर्थिन् र उनी पनि ११ दिनदेखि घरमै छिन् । मर्नुभन्दा बहुलाउनु निको भनेझै काम छोडेर बसेकी छिन् ।

म १८ वर्ष इटाली बसेँ । अहिले जाने-आउने गर्छु । कालिज फार्मिङको व्यवसाय गर्छु । अहिले परिवारसँग दशैैं मान्न इटाली आएको थिएँ । चीनमा देखिएको कोरोना संक्रमण यही पनि आइपुग्यो । यस्तो अवस्थामा परिवार छोडेर जान सकिन । हामी यहाँ वरपर ६ परिवारका १५ जना नेपाली छौं, सबै घरमै छौं । बाहिर निस्केका छैनौं । श्रीमती सामान लिन बाहिर गएकी थिइन् । दुध पाउने ठाउँमा ५०/६० जनाको लाइन रहेछ । लाइन बस्दा एक-एक मिटरको दुरीमा राखिन्छ । एउटा निस्केपछि अर्कोलाई प्रवेश दिइन्छ । तर, लाईनमा बस्दा पनि सर्छ कि भन्ने डर हुँदोरहेछ । त्यसैले उनी फर्केर आइन् । हामी बसेको ठाउँमा २७ जनालाई संक्रमण देखिएको छ । हामी नेपालीहरु सुरक्षित छौं ।

मलाई लाग्छ, अलिक छाडा भएर संक्रमण फैलियो । सुरुमा इटालीमा संक्रमण देखिएपछि मैले नेपालबाट मास्क मगाएँ । मास्क लगाएर सपिङ गर्न जाँदा यो त बिरामीले मात्र लगाउने हो भन्ने जस्तो गरे । टीभीमा पनि त्यही फुकिरहेका थिए । बिरामीले खोक्दा अरुलाई नसरोस् भनेर मात्र लगाउने हो मास्कभन्ने उनीहरुले हेक्का नै राखेनन् ।

हामीलाई त डर लाग्थ्यो, त्यसैले लगायौं । अहिले आएर सबैलाई अनिवार्य लगाउन भनिएको छ । तर, अझैपनि मास्क नलगाई हिँड्नेहरु छन् । यही लापरवाहीले यो अवस्था भोग्नु परेको छ । परीक्षण पनि बिरामी नहुँदासम्म गरिँदैन । मलाई खोकी लाग्यो, ज्वरो आयो भनेर बोलाएपछि मात्र एम्बुलेन्स आएर लैजान्छ र आइसोलेटेड गर्छ । यही कारणले पनि अवस्था भयावह बन्दै गएको छ ।

नेपालले इटालीले गरेको गल्तीबाट पाठ सिक्नुपर्छ । भारत वा अन्य देशबाट नेपाल भित्रिएका सबैलाई खोजीखोजी चेक गर्नु जरुरी छ । तबमात्र नेपाल सुरक्षित हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment