Comments Add Comment

तरकारी बेच्न जाँदा पनि पक्राउ पर्छन् व्यापारी

१६ चैत, काठमाडौं । चितवनमा २० बिघा जमिनमा तरकारी खेती गरेका सामर्थ ढुंगानाको कालीमाटी आफ्नै तरकारी पसल छ । चैत ११ गते बेलुकी तरकारी बिक्री गरेर संतुगलस्थित घर फर्कदै गर्दा उनले सुनेका थिए ‘राति १२ बजेदेखि लकडाउन सुरु हुन्छ ।’

उनको तरकारी व्यवसायलाई सरकारले जस्तोसुकै अवस्थामा पनि सञ्चालनमा ल्याउनुपर्ने भनी अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । चैत १२ गते ढुंगाना झिसमिसेमै उठेर कालीमाटी आए ।

तीन बजेदेखि ७ बजेसम्म तरकारी बिक्री गरे । पसल बन्द गरेर घर फर्कदै गर्दा साढे सात बजे उनीसहित १० भन्दा धेरै व्यापारी डेढ घण्टा प्रहरीको घेरामा परे । उनीहरुलाई लकडाउन उल्लंघन गरेको आरोप लगाइयो ।

त्यसयता ढुंगानाले कालीमाटीको पसल खोलेका छैनन् । ‘तरकारी बेच्न जान र बेचेर फर्किनै समस्या छ, के गर्ने भन्नेबारे न कसैले जानकारी दिन्छ, न प्रशासनले सहयोग गरेको छ, तनाव झेलेर पसल खोल्नुभन्दा केही दिन घरमै बसिन्छ’ उनले भने ।

कालीमाटी तरकारी तथा फलफूल थोक व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्य धेरै व्यवसायीले यस्तो समस्या झेलेको बताउँछन् । ‘जिल्ला बाहिरबाट पसलमा तरकारीको गाडी आउँछ । तर, प्रहरीले गर्दा हामी जान सकेका छैनौं,’ उनले भने । ग्राहक र व्यापारी दुबै बजारमा आउन नसक्दा तरकारीको बजार अप्ठ्यारोमा परेको उनले बताए ।

सरकारको उपस्थिति नै भएन

अत्यावश्यक खाद्यवस्तु तरकारी बजार कसरी सञ्चालन गर्ने भन्ने तयारी नहुँदै लकडाउन सुरु भएकाले व्यापारी र उपभोक्ता समस्यामा परेका व्यवसायी ददिराम उप्रेती बताउँछन् ।

किसानको खेत र कालीमाटी बजारमा तरकारी कुहिने अवस्थामा पुगेको तर उपभोक्ताले अत्यधिक महँगो मूल्यमा तरकारी खरिद गर्न परेको उनी बताउँछन् ।

तरकारी बिक्री गर्नेका लागि पासको व्यवस्था झञ्झटिलो बनाइएको उनको भनाई छ । ‘दुई/तीन घण्टा पसल खुल्छ, आएको माल बिक्दैन कुहिने अवस्थामा छ अब पास खोज्दै कहाँ जाने’ उनले भने ।

बजारमा पाँच हजार मानिस

कालीमाटी प्रहरी वृत्तको सुरक्षामा कालिमाटी तरकारी बजार तीन दिनयता बिहान २ बजेदेखि ६ बजेसम्म सञ्चालनमा आइरहेको छ ।

छोटो समय सञ्चालनका कारण बजारमा थेगिनसक्नु भीड भएको व्यवसायी डोलबहादुर मगर बताउँछन् । उनको अनुमानमा दैनिक पाँच हजार मानिस कालीमाटी आएका छन् । उनी भन्छन् ‘थोकमाभन्दा पनि खुद्रामा सामान किन्न मानिसहरु बजार आएका छन् ।’

व्यापारीका अनुसार ठूलो परिमाणको सामान बिक्री छैन । तर, भीड अत्याधिक छ । उपत्यकाबाट टाढाका व्यापारी बजारसम्म आउनै नसकेको कालीमाटी तरकारी तथा फलफूल थोक व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्य बताउँछन् । ‘सरकारलाई मेरो आग्रह छ यहाँबाटै रोग सर्ने खतरा भयो, अन्यत्र पनि तरकारीका पसलहरु सञ्चालन गरौँ, थोक बिक्री बढाऔँ,’ आचार्यले भने ।

आलु, काउली, बन्दा, गोलभेडा, लौका फर्सीजस्ता तरकारी बजारमा कुहिन थालेको व्यवसायीले बताएका छन् । खुद्रा पसल खोल्ने र ग्राहक आउने समय व्यवस्थापन नगर्दा तरकारी बिक्री नभएको व्यवसायी डोलबहादुर मगर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment