Comments Add Comment

सुरक्षाकर्मीलाई निःशुल्क भाइजर बाँड्ने यी युवक

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गराउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु हुन् । तर, उनीहरुसँग मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्यानिटाइजर, भाइजर लगायतका सामग्री छैन ।

हिजोआज सुरक्षाकर्मीहरु सामान्य मास्ककै भरमा ड्यूटी गरिरहेका छन् । आइतबार भने डिल्लीबजार क्षेत्रमा एक युवक प्रहरीलाई भाइजर बाँड्दै थिए । उनी हुन् अमित मेचे ।

मेचेले व्यक्तिगत लगानीमै उत्पादन गरेको भाइजर प्रहरीलाई दिएका हुन् । झापा मेचीनगर घर भएका मेचेलाई एउटै घरमा बस्ने खडानन्द सिलवाल, भुपाल थापा र लक्ष्मी महर्जनले समेत सहयोग गरेका छन् ।

एक जना स्वास्थ्यकर्मीले सल्लाह दिएपछि उनीहरुले थेसिस बाइण्डिङ गर्ने प्लाष्टिक, धागो, इलास्टिकलगायतका कच्चा पदार्थ प्रयोग गरेर भाइजर उत्पादन गरेको हो ।

‘सुरुमा हामीले परीक्षणका रुपमा १० पिस उत्पादन गरेर, आफैंले लगायौं केही जान्नेहरुलाई पनि देखायौं’ मेचेले भने, ‘सुरक्षाका लागि धेरै राम्रो भन्ने प्रतिक्रिया पाएपछि उत्पादन बढायौं ।’

भाइजर बनाउन मेचे, सिलवाल र भुपाल थापाले लगानी गरेका छन् भने महर्जनले सिलाउने काम गरेकी छन् ।

चार जनाको समूहले सर्वसाधारणलाई समेत भाइजर वितरण गरिरहेको छ । टोलीले डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई भाइजर बाँडिसकेको छ ।

भाइजर अनुहारलाई सुरक्षित बनाउने किसिमको छ । एक जनाले दैनिक ६० देखि ७० वटा मात्रै उत्पादन गर्न सक्ने मेचे बताउँछन् । एक जनाले कम उत्पादन हुने भएकाले एक जना सिलाउने मान्छेसमेत थप गरिएको उनले सुनाए । उनका अनुसार हालसम्म चार ५० पिस यस्तो भाइजर निःशुल्क बाँडिएको छ ।

‘कसैले केही गरेन भन्ने कुरा छ । त्यहीँ भएर हामीले यो गरेका हौं’ मेचेले भन्छन्, ‘माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले पनि लिनुभएको छ, सायद अब यसको माग अझै बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment