Comments Add Comment

कोरोना संक्रमितसँगै आएकाहरुको ट्रेसिङ नहुँदा सन्त्रास बढ्यो

१५ चैत, पोखरा । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सर्वसाधारणमा सन्त्रास थपिएको छ ।

४ चैतमा काठमाडौं आएकी उनी त्यही दिन यति एयरलाइन्सको जहाजमा पोखरा पुगेकी थिइन् । उनी एक दिन पोखरामा आफन्त कहाँ बसेर चैत ६ गते बागलुङस्थित घर पुगिन् । पोखरा बसाईको क्रममा उनले ट्याक्सी प्रयोग गरिन् भने माइक्रोबस चढेर उनी बागलुङ पुगिन् ।

कतारबाट आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा संक्रमण देखिएपछि स्थानीय प्रशासनले उनको सोधीखोजी गरेको थियो । र, बागलुङ नगरपालिका–४, कुँडुलेकी उनमा कोरोना संक्रमणको पुष्टि भएपछि थप सन्त्रास फैलिएको छ । संक्रमणको पुष्टि हुनुअघि उनी खुलेआम गाउँठाउँ घुम्दै हिँडिरहेका कारण बागलुङमा सन्त्रास बढेको मेयर जनकराज पौडेल बताउँछन् ।

साथै, सर्वसाधारणले कोरोना भाइरसको संक्रमण देखिएका देशहरुबाट आएकालाई सरकारले क्वारेन्टाइनमा नराखी घरमा जान दिएकोप्रति प्रश्न उठाएका छन् ।

यो पनि पढ्नुहोस ज्वरो आउँदा अस्पताल गइनन्, क्वारेन्टाइनमा पनि बसिनन्

त्योभन्दा पनि संक्रमण देखिएकी युवतीसँग यति एयरलाइन्समार्फत् कति जना पोखरा आएका थिए ? उनीहरु कहाँ छन् भन्ने प्रश्नले सन्त्रास बढेको छ । ‘यति एयरलाइन्समार्फत् कति जना आएका थिए, उनीहरु कुनकुन जिल्लाका थिए र अहिले के गरिरहेका छन् भन्ने तथ्यांक नहुँदा धेरै सन्त्रास थपिएको छ,’ स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अनलाइनखबरसँग भने, ‘संघीय र प्रदेश सरकारले त्यो तथ्यांक र जिल्ला पत्ता लगाए स्थानीय तहले सम्बन्धित यात्रुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने थियौं ।’

सर्वसाधारण पनि विदेशबाट फर्किनेहरुलाई खुलेआम छोड्दा समस्या भएको बताउँछन् । त्यस्तै, धारणा राख्ने मध्येका एक पोखराका नवीन थापा भन्छन्, ‘चैत पहिलो हप्तादेखि नेपाल आएकाहरुलाई अनिवार्य सरकारी वा होम क्वारेन्टाइनमा राखिनुपर्थ्यो । तर, उनीहरुलाई खुलेआम छाड्दा थप जोखिम र सन्त्रास फैलियो ।’

अहिले संक्रमण देखिसकेपछि पनि यति एयरलाइन्समा आएका यात्रुहरुको खोजी नगरेर सरकारले जोखिम निम्त्याउन खोजिएको कृष्ण क्षेत्रीले बताए । ‘सरकारले चाह्यो भने तत्काल गर्नसक्छ । तर, अहिलेसम्म न विदेशबाट फर्केकाहरुको तथ्यांक छ न ती किशोरीसँगै पोखरा आएकाहरु कहाँ छन् भन्ने थाहा छ,’ क्षेत्री भन्छन्, ‘यो सरकारको लापरवाही हो । दुर्घटना निम्त्याउने खेल हो।’

प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु भने संक्रमण पुष्टि भएकी किशोरीसँगै यति एयरलाइन्सबाट पोखरा आएका यात्रुहरुको अभिलेख खोजी भइरहेको बताए ।

गण्डकी प्रदेशका स्थानीय तहहरुलाई विदेशबाट फर्किएकाहरुको अभिलेख राखेर क्वारेन्टाइनमा राख्न आइतबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्देशन दिएको भन्दै उनले भने । यति एयरलाइन्सबाट पोखरा आउनेको लिस्ट मगाउन लागेको उनले बताए । उनले कतारबाट आउनेहरुको पनि खोजी भइरहेको समेत बताए ।

कोरोना संक्रमण देखिएकी युवती आएको कतार एयरवेजको जहाजमा सँगै आएका एक जना व्यक्ति पोखरामा पनि छन् । उनलाई सम्पर्कमा ल्याएर चिकित्सकको निरन्तर निगरानीमा क्वारेन्टाइनमा राखिएको शर्माले जानकारी दिए ।

त्यस्तै, तनहुँबाट एक जनालाई पोखरा ल्याएर मालेस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment