१५ चैत, काठमाडौं । नेपालमा भेटिएकी पाँचौं कोरोना संक्रमित बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् ।
बेल्जियममा रहेका आमाबुबालाई भेट्न करिब दुई महिना अघि युरोप पुगेकी थिइन् । बाबु करिब एक महिना पहिले घरमा फर्किए, जहाँ युवतीका हजुरबा र आमा छन् । उनी पनि कतार ट्रान्जिट बनाउँदै कतार एयरवेजको विमानबाट ४ चैतमा काठमाडौं आइन् । त्यही दिन विमानबाट पोखरा र त्यहाँबाट माइक्रोबस चढेर घरमै पुगेकी थिइन् ।
घरमा पुगेपछि ७ चैतमा हल्का ज्वरो आयो । खोकी पनि लागेको थियो । १० गते फेरि ज्वरो आयो । तर, न उनी अस्पताल गइन्, न चिकित्सकलाई नै खबर गरिन् । बरु सरकारले होम क्वारेन्टाइन अनिवार्य भनेको भएपनि उनी भेटघाट र हिँडडुल गर्ने गरेको पाइएको छ ।
बागलुङ नगरपालिका मेयर जनक पौडेल भन्छन्, ‘उनी सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित छ ।’
कतार एयरवेजको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई चैत १० गते कोरोना संक्रमणको पुष्टि भएपछि अरु यात्रुको खोजी गर्ने क्रममा सरकारी अधिकारीहरुले उनलाई सम्पर्क गरेका थिए ।
‘त्यतिबेला उनलाई सामान्य रुघाखोकी लागेको थियो’, धौलागिरि अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले अनलाइनखबरसँग भने, ‘जटिल लक्षण नदेखिए पनि जोखिमको आधारमा ११ गते स्याम्पल लिएर पोखरा हुँदै काठमाडौंमा पठाएका थियौं ।’
थ्रोट स्वाब लिएपछि उनी अस्पताल बसिनन्, घरमा क्वारेन्टाइनमा बस्न थालिन् । घरका अन्य सदस्य पनि त्यतिबेलादेखि क्वारेन्टाइनमा बसेका थिए ।
उनलाई संक्रमण भएको पुष्टि भएपछि अब उपचारको प्रवन्ध कसरी मिलाउने भन्ने छलफल भइरहेको छ । ‘काठमाडौं लैजाने नलैजानेबारे प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल भइरहेको डा. विकले जानकारी दिए । ‘अहिले उनको अवस्था सामान्य छ, तर के गर्ने भनेर प्रदेशसँग छलफल गरिरहेका छौं । पीपीई पनि माग गरेका छौं’ उनले भने ।
यसअघि अस्पतालले कोरोना संक्रमणको आशंकामा एक जनाको नमुना संकलन गरेको थियो । अस्पतालकै आइसोलेसनमा राखिएको उनको चार दिनपछि रिपोर्ट नेगेटिभ आयो र उनी घरमा फर्किसकेका छन् । ‘त्यतिबेला अस्पतालसँग पीपीई पनि थियो र हामीले उनलाई पूर्ण सतर्कताका साथ आइसोलेसनमा राखेका थियौं’, डा. विकले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4