Comments Add Comment

कार्यक्षेत्रमै फसे ५० हजार मजदुर, उद्दारको याचना

१६ चैत, काठमाडौं । लकडाउनका कारण विभिन्न जिल्लाको निर्माण क्षेत्रमा करिब ५० हजार निर्माण मजदुर अलपत्र परेका छन् ।

औद्योगिक तथा व्यवसायिक क्षेत्रमा कार्यरत मजदुरको संख्या जोड्ने हो भने त्यो संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । अहिले विभिन्न क्षेत्रमा अलपत्र मजदुरले उद्दारका लागि याचना गरिरहेका छन् ।

मजदुरीको सिलसिलामा आफ्नो घरभन्दा बाहिरी जिल्ला तथा क्षेत्रमा विभिन्न आयोजनामा काम गरिरहेका हजारौं मजदुरहरु अलपत्र परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले जिल्ला प्रशासन कार्यालयहरुसँगको सहयोगमा करिब ५० देखि ६० हजार कामदारलाई उद्दार गरेर उनीहरुको घरमा फर्काइएको बताए । उनका अनुसार अझै पनि त्यति नै संख्यामा विभिन्न दुर्गम भेगमा कार्यरत मजदुरहरु अलपत्र परेका छन् ।

विशेष गरी स–सानो संख्यामा छरिएर काम गरिरहेका निर्माण मजदुरलाई गाउँघरमा बढी समस्या भएको छ । अहिले गाउँमा नौलो मान्छेलाई घर वरपर नै आउन नदिने र हिँड्न समेत रोक लगाउने अवस्था आएकाले कार्य क्षेत्रमा नै मजदुरले कष्टकर रुपमा दिन बिताइरहेका छन् ।

‘मजदुरलाई घरसम्म छोड्ने आयोजना र निर्माण व्यवसायीको गाडीलाई जिल्ला प्रशासन कार्यालयबाट पास दिलाउने काम त भइरहेको छ,’ उनले भने, ‘तर, कतिपय आयोजनाहरुमा त्यसरी तत्कालै उद्दार गर्ने अवस्था भने छैन । कतिसँग गाडी छैन भने कतिपय ठाउँमा उद्दारका लागि पुग्नै समस्या छ । ’

कतिपय निर्माण मजदुरका क्याम्पमा खाद्यान्न अभाव भइसकेकाले जतिसक्दो छिटो उनीहरुलाई मानवीय सहायता पु¥याउन आवश्यक देखिएको उनले बताए ।

‘कर्णालीका विभिन्न जिल्ला, संखुवासभा, मुस्ताङ, म्याग्दीलगायतका दुर्गम भेगमा कार्यरत मजदुरलाई फर्काउन समस्या भएको छ,’ उनले भने, ‘उनीहरुलाई फर्काउन सकिएन भने स्थानीय तहसँग समन्वय गरेर भए पनि वा सरकारले नै कुनैपनि माध्यमबाट उनीहरुलाई त्यहाँ नै खाद्यान्न पु¥याउने व्यवस्था गर्नुपर्छ । हामी पनि सरकारलाई सघाउँछौं ।’

महासंघले अहिले करिब पाँचदेखि सात हजार भारतीय निर्माण मजदुर पनि नेपालमा रोकिएको बताए । उनीहरुले पनि घर फर्किन चाहेका छन् । विशेषगरी जटिल मानिने प्राविधिक काममा भारतबाट मजदुरहरु आउँछन् ।

महासंघले भारतीय मजदुरलाई घर फर्काउन भारतीय दूतावासँग पनि समन्वय थालेको छ । तर, नतिजा आएको छैन । लकडाउन खुल्ने कहिले हो भन्ने अनिश्चित भएपछि कतिपय मजदुर हिँडेरै पनि गन्तव्य तर्फ जान थालेका छन् । जोखिमपूर्ण रुपमा पैदल लामो यात्रा तय गर्नेहरु राजमार्गमा प्रशस्त भेटिन थालेका छन् ।

तर, विकट क्षेत्रका मजदुरहरु भने सरकार र निर्माण व्यवसायीको सहयोग मागिरहेका छन् । उनीहरुलाई घरसम्म पु¥याउन नसकेपनि सुरक्षित रुपमा राख्ने प्रवन्ध गर्नु अत्यावश्यक भइसकेको उनीहरु बताउँछन् ।

अलपत्र मजदुरहरुलाई घर फर्काउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि पहल थालेको छ । गृह मन्त्रालयलाई आग्रह गरेर घर जानुपर्ने अवस्थामा मजदुरलाई घरसम्म लैजाने सवारीलाई पासको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

तर, कतिपय निर्माण व्यवसायीले मजदुरको समस्यालाई बेवास्ता गर्दापनि समस्या थपिएको मन्त्रालयका एक अधिकारीले बताए ।

निर्माण क्षेत्रमा काम हुने मुख्य समय भएकाले मजदुर ल्याएर राखेका ठेकेदारहरुले लकडाउनपछि उनीहरुलाई खान र बस्नको लागि उचित प्रवन्ध गर्न चासो नदिएको ती अधिकारीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment