Comments Add Comment

भारतका वृद्ध दम्पतिले जिते कोरोनालाई, डाक्टर भन्छन्– आश्चर्य भयो

१८ चैत, काठमाडौं । जानकारहरु भन्छन्, कोरोना भाइरस संक्रमणले वृद्धवृद्धा बढी जोखिममा हुन्छन् । अझ अन्य कुनै दीर्घ रोग छ भने त झन् कोरोना लाग्यो भने बाँच्नै मुस्किल हुन्छ भन्ने पनि गरिन्छ ।

तर भारतमा भने ९३ र ८८ वर्षे दुई व्यक्तिले कोरोनालाई हराउन सफल भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस र उनकी पत्नी ८८ वर्षीया मरियम्मा उपचारपछि निको भएका हुन् । अस्पतालबाट उनीहरु डिस्चार्ज भइसकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनीहरुमा पाको उमेरका साथसाथै डायबिटिज र हाइपरटेन्सन जस्ता समस्या पनि थियो । अस्पतालमै थोमसलाई हृदयाघात पनि भएको थियो । उनकी पत्नी मरियम्मालाई ब्याक्टेरियल इन्फेक्सन भएको थियो । यसको बाबजुद पनि दुवै जना कोरोनाविरुद्धको लडाइँ जित्न सफल भएका छन् ।

थोमसका छोरा, बुहारी, नाती र अन्य दुई आफन्त पनि कोरोना संक्रमित थिए । उनीहरु पनि उपचारपछि निको भएर घर फर्किएका छन् । थोमसका छोरा–बुहारी इटलीबाट फर्किएका थिए । कोरोना संक्रमण भएपछि उनीहरुलाई पथानामथिट्टा जिल्लाको कोट्टायाम मेडिकल कलेलमा भर्ना गरिएको थियो । स्वास्थ्यलाभ गरी अस्पतालबाट बिदा हुँदा उनीहरु र डाक्टरहरुसमेत भावुक भएका थिए ।

अस्पतालका एक डाक्टरले भनेका छन्, ‘६० वर्षभन्दा बढी उमेरका व्यक्ति कोरोना लागिसकेपछि पनि निको हुनु ठूलो सफलता हो ।’

अस्पतालका तनावपूर्ण दिन

अस्पतालमा ल्याइएको सुरुका दिनहरु तनावपूर्ण रहे । केही दिनसम्म थोमस र उनकी पत्नीलाई अलग–अलग कोठामा राखिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरुले कमसेकम एकअर्कालाई देख्न पाउन् भनेर एउटै कोठामा राखियो ।

उनीहरुले खाना खान मान्दैनथे । उनीहरुले हामीलाई घर पठाइदेऊ मात्र भन्थे । यही बीचमा थोमसलाई छातीको दुखाइ र खोकी बढ्दै गयो । सास फेर्न पनि गाह्रो हुन थाल्यो । त्यसपछि उनलाई भेन्टिलेटरमा लगेर राखियो । त्यहीँ उनलाई हृदयाघात पनि भयो । उनीहरुको पिसाब संक्रमणको उपचार पनि जारी थियो ।

अन्ततः उनीहरुलाई निको भयो । उनीहरुको ज्यान जोगाउन सफल भएको भन्दै केरलाका स्वास्थ्यमन्त्री के.के. शैलजाले कोट्टायाम मेडिकल कलेजका चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाइ दिएकी छन् ।

डाक्टर भन्छन्– ६ पटकसम्म गुमायौं भन्ने लागेको थियो

अस्पतालका संक्रामक रोग विभाग प्रमुख डा. सजित कुमार आर.ले थोमस दम्पतिलाई बचाउन सकिँदैन कि भन्ने परिस्थिति ६ पटकसम्म आएको बताएका छन् । यसलाई आश्चर्यजनक घटना भन्दै उनले उनीहरुको भाग्य बलियो भएको प्रतिक्रिया दिएका छन् ।

इन्डियन एक्सप्रेससँग डा. सजि कुमारले भनेका छन् भनेका छन्, ‘यो संक्रामक कोभिड–१९ को उपचारको सफलतामा एक दुर्लभ अध्याय हुन सक्छ । हामीले ६ पटकसम्म थोमस दम्पतिलाई गुमाउँछौं कि भन्ने सोचेका थियौं । तर, उनीहरुको भाग्य बलियो रहेछ । उनीहरुमा भगवानको आशिर्वाद रहेछ ।’

थोमस र उनको परिवारका सदस्यहरुलाई अस्पतालबाट घर पठाउने बेला अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरुले ताली बजाएका थिए । बिदाइ गर्नेबेला उनीहरुले आफूहरुका लागि पाकेको खानाको प्याकेट र मिठाई उपहार पनि दिएका थिए ।

थोमसको परिवारलाई अझै दुई हप्तासम्म घरमै क्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझावसमेत दिएका छन् । १४ दिनपछि उनीहरुको फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा

Advertisment