१८ चैत, वीरगञ्ज । यतिबेला मुलुक दुईसाता लामो लकडाउनको क्रममा छ । नागरिक सुरक्षाको लागि सरकारले आह्वान गरेको लकडाउनलाई नागरिकले भने विभिन्न ठाउँखा खेलाँची गरेका प्रशस्तै उदाहरणहरु पाइन्छ । यही खेलाँचीबाट मुक्त छैन वीरगञ्ज पनि ।
भारतमा कोरोना भाइरसको महामारीले ज्यान जाने र संक्रमितको संख्या बढिरहँदा नेपालको सीमावर्ती शहरहरु पनि यसबारे सचेत हुनुपर्ने हो । तर, नेपाल भारतबीचको निकै व्यस्त नाकाको रुपमा रहेको वीरगञ्जमा भने यो यसप्रति सचेतता अपनाएको पाइएन ।
सामान्यतया सरकारले आह्वान गरेको लकडाउनमा अत्यावश्यक बाहेक अरु मानिसलाई बाहिर निस्कन मनाही गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन मुलुकमा लकडाउनको आव्हान गरिएको हो।
सरकारले पटक पटक कोरोना भाइरसबाट बच्ने एउटै उपाय सामाजिक दुरी कायम गर्नु हो भन्ने सन्देश पनि दिँदै आएको छ। तर, वीरगञ्जका स्थानीयहरु भने सुरक्षाकर्मीको निर्देशनलाई समेत अटेरी गर्दै सडकमा भिड गर्न निस्कने गरेका छन् । सरकारले लकडाउनमा अत्यावश्यक औषधि, तरकारी, खाद्यान्नका पसल मात्रै खोल्न आग्रह गरेको छ ।
ती वस्तु खरिदका लागि बजार निस्कनै परेको खण्डमा पनि एक जना मात्रै निस्कन आग्रह गरेको छ । तर, मंगलबार दिउँसो वीरगञ्ज शहरको अवस्था बुझ्न निस्कँदा त्यस्तो देखिएन ।
मानिसहरु मोटरसाइकल, साइकल र पैदलमार्फत् सडकमा निस्किएको पाइयो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि वीरगञ्ज भन्सार नाकासम्म पुग्दा लकडाउन भएको जस्तो अनुभूति भएन।
अस्पताल र मेडिकल रहेका कारण विर्ता क्षेत्रमा मानिसको चहलपहललाई स्वभाविक मान्न सकिएपनि अन्यत्र पनि मानिसहरु ओहोर दोहोर गरिरहेका देखिन्थे । सुरक्षाकर्मीले केहीलाई रोकेर फिर्ता पठाएको भएपनि अधिकांशले अटेर गरेर र सुरक्षाकर्मीको आँखा छलेर ओहोर दोहोर गरिरहेको पाइयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले नागरिकले लकडाउन आफ्नो लागि हो भनेर नबुझिदिँदा समस्या भएको बताए । ‘ बेक्कारका मानिसहरु हिँडिदिँदा अत्यावश्यक कामका लागि निस्कने मानिस पनि समस्यामा पर्छन ।’ उनले भने ‘ परिस्थितलाई बुझेर मानिसहरु स्वतस्फूर्त रुपमा सचेत हुनुपर्ने हो । तर, माइकिङ गराएर बाहिर ननिस्कन आग्रह गर्दा समेत अटेर गरिरहेका छन् ।’
यद्यपि लकडाउन अन्य दिनको तुलनामा मंगलबार राम्रोसँग पालना भएको उनको तर्क छ । ‘ तरकारी बजार पनि अन्य दिनको तुलनामा व्यवस्थित थियो, मंगलबार बिहान साढे ११ बजेसम्म म स्वयं ड्युटीमा थिए ।’ उनले भने ।
 
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4