Comments Add Comment

ग्यास उद्योगीको दुखेसो : बन्द गर्नु कि चलाउनु ?

१८ चैत, काठमाडौं । अत्यावश्यक वस्तुअन्तरगत पर्ने खाना पकाउने एलपीजी ग्यासको ढुवानी तथा वितरण प्रभावित हुने गरी स्थानीय सरकारले उर्दी जारी गरेको ग्यास उद्योगीहरुले गुनासो गरेका छन् ।

उद्योगमा पूर्ण लकडाउन कार्यान्वयन गर्न नगरपालिका कार्यालयबाट पत्राचार भएको भन्दै धादिङका दुई ग्यास उद्योगले नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् ।

धादिङको धुनीबेसी नगरपालिकाले उद्योग र यस क्षेत्र वरपर लकडाउन पूर्ण पालना गर्न आग्रह गर्दै पत्राचार गरेको सिद्धार्थ र सुगम ग्यास उद्योगले जनाएका छन् ।

नगरपालिकाको वडा नम्बर ६ चालिसेमा रहेको सिद्धार्थ ग्यास उद्योग र आठ नम्बर वडास्थित टापुमा रहेको सुगम ग्यास उद्योगलाई पूर्ण लकडाउनका लागि पत्राचार गरिएको ग्यास उद्योगले जनाएका छन् ।

दुवै उद्योगमा नगरपालिकाले चैत १६ गते पत्राचार गरेको थियो । सोही पत्रलाई आधार बनाएर उद्योगमा कार्यरत मजदुरले पनि काममा आउन नसक्ने जानकारीको निवेदन उद्योगमा पठाएको उद्योगीहरुले जनाएका छन् ।

नेकपा निकट अखिल नेपाल औद्योगिक मजदुरसंघका तर्फबाट चैत्र १८ गते उद्योगमा पत्र पठाउँदै लकडाउन कार्यान्वयन गर्ने स्थानीय तहको निर्देशनलाई मान्दै काममा आउन नसक्ने जानकारी गराइएको एक उद्योगीले अनलाइनखबरलाई बताए ।

उद्योगीको प्रश्न : कुन सरकारको आदेश मान्ने ?

नगरपालिकाको निर्देशन र केन्द्र सरकारको पिरोलोले आफूहरु अप्ठ्यारोमा परेको सुगम ग्यासका सञ्चालक शिव घिमिरेले अनलाइनखबरलाई बताए ।

‘केन्द्र सरकार उद्योग जसरी पनि चलाउ, नत्र राम्रो हुन्न भन्छ । तर, नगरपालिकाचाहिँ बन्द गर भन्छ, हामी कसको कुरा सुन्ने?’ घिमिरेले भने ।

हाल ग्यास उद्योग सञ्चालनकै अवस्थामा रहे पनि केही उद्योगमा समस्या आउन थालेको उनले बताए । स्थानीय प्रशासन र मजदुर संगठनको अवरोध कायमै रहे ग्यास भर्ने तथा वितरण एवं ढुवानीमा समस्या आउन सक्ने उद्योगीको भनाइ छ ।

बन्द होइन, व्यवस्थित होऊ :  नगरपालिका

यता धुनीबेंशी नगरपालिकाले भने अत्यावश्यक सेवा बन्द गर्न नभई व्यवस्थित रहन आफ्नो नगरमा रहेका तीन उद्योगलाई आग्रह गरेको स्पष्ट पारेको छ ।

नगरमा रहेका एचपी, सुगम र सिद्धार्थ ग्यासलाई पत्र पठाइएको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘ग्यास उद्योग वरपर दिनभरि ग्यास बिक्री गरिएको, उद्योगका मजदुरहरु जुनसुकै बेला सार्वजनिक क्षेत्रमा ओहोर गरेको जस्ता कार्यले भिड बढाएपछि व्यवस्थित हुन र लकडाउनको मर्यादा पालना गर्न आग्रह गरिएको हो, बन्द गर्न भनेका छैनौँ ।’

आफ्नो उद्योगमा भएको समस्याबारे मेयरलाई जानकारी नगराई मिडियाबाजीमा लाग्नुले उद्योगीको उद्योग नचलाउने नियत हुन सक्ने मेयर आचार्यले आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment