Comments Add Comment

‘नेपालमै जमातमा थियौं, दिल्लीको धार्मिक सभामा गएका छैनौं’

२० चैत, वीरगञ्ज । भारतमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाउन भूमिका खेलेको मानिएको नयाँदिल्लीको धार्मिक सभामा सहभागी भएको आशंकामा प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ कञ्चनपुर टोलबाट ११ जनालाई उठायो ।

रौतहटको यमुनामाई गाउँपालिकाको राजपुर तुल्सी, हजमिनीया, फतुवा, सठुअवामा घर भएका उनीहरुले अहिले वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ ।

तबलीगी जमातले दिल्लीको निजामुद्दीनमा मार्च १ देखि १५ सम्म धार्मिक सभा गरेको थियो । जहाँ करिब आठ हजार सहभागी भए । नेपालबाट पनि मुस्लिम समुदायका मानिसहरु पुगेका थिए । त्यही सभामा सहभागीहरुलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएपछि भारतमा ठूलै हलचल मच्चिएको छ ।

नेपालबाट सहभागीमध्ये २० जना दिल्लीमा छन् । त्यहाँ रहेका १३ विद्यार्थी पनि उतै छन् ।

अरु सहभागीको खोजी भइरहेको छ । त्यही क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको हो । उनीहरुले भने तबलीगी जमातले आयोजना गरेको धार्मिक कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन् ।

आफूहरु ५० दिनदेखि नेपालमै जमातमा रहेको बताएका छन् । रौतहटबाट सप्तरीमा आयोजित धार्मिक सभामा सहभागी भएको र त्यहाँबाट वीरगञ्ज आएको दाबी गरेका छन् । ७ गते वीरगञ्ज लाठगल्लीमा बसेका थिए ।

त्यहाँबाट कटिया जाने रुट मिलेको उनीहरुले बताएका छन् । कटियामा तीनवटा मस्जिद छ । एउटामा आठ दिन र बाँकीमा ३÷३ दिन बसेपछि अन्य मस्जिद हुँदै छ दिनअघि पटेर्वा सुगौली–१ पुगेको उनीहरुको भनाइ छ ।

मस्जिदमा नमाज पढ्न सिक्ने र सिकाउने काम आफूहरुको रहेको राजपुर तुल्सीका ५३ वर्षीय शेख महफुजले बताए । ‘४ महिनाका लागि नेपालमै जमात मिलेको थियो, त्यसैले नेपालकै विभिन्न मस्जिदमा हामीहरु गएका हौं’ उनले भने ‘बुधबार दिउँसो कञ्चनपुरको मस्जिदबाट उठाएर हामीलाई यहाँ ल्याए ।’

उनकाअनुसार यो समूहमा रौतहटका ११ जना थिए । सिद्धार्थ स्कुलकै क्वारेन्टाइनमा वीरगञ्ज–१९ लक्ष्मणवाका मोहम्मद कमरुद्दीन पनि छन् । उनी भने दिल्लीको जमातमा सहभागी भएको पाइएको छ । यद्यपि उनले आफू कोरोना भाइरसको हल्ला चल्नु अघि नै जमातबाट निस्किसकेको दाबी गरेका छन् ।

उनी बाराको हर्नेयामा गएर बसेका थिए । ‘कोरोना भाइरसको हल्ला आउनु अघि नै जमातमा गएको हो, मलाई रोग नै लागेको छैन किन जचाउनु भनेर बसेको थिए’ कमरुद्दीनले भने ‘मोटरसाइकलमा गएर ल्याए, जाँच गरेपछि यहाँ राखेका छन् ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिल्ली गएकाहरुको खोजी भइरहेका बताए । उनले अनलाइनखबरसँग भने ‘११ जनाले पहिलेदेखि पर्सामा आएको हो बाहिर गएको छैन भनेका छन् ।

थप बुझ्ने काम भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र शाहीले पनि क्वारेन्टाइनमा राखिएकाहरु स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गए नगएको अनुसन्धान गरिने जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएकाहरुले भने खाना खान समेत नपाएको बताएका छन्। क्वारेन्टाइनमै रहेका हजमिनियाका शेख सफुरले प्रहरीले नियन्त्रणमा लिएदेखि खाना नदिएको बताए ।

‘बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर त्यहीको चौकीमा राख्यो । त्यसपछि राति ९ बजेतिर वीरगञ्ज ल्याएको हो, राति पनि खाना दिएको छैन’ उनले भने, ‘आज बिहान पनि केही खान दिएको छैन ।’

यसबारे बुझ्न खोज्दा क्वारेन्टाइन व्यवस्थापन गरिरहेका वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले भने जानकारी दिने फुर्सद नभएको प्रतिक्रिया दिएका छन् । ‘म क्वारेन्टाइनको लिडिङ गरिरहेको छु । त्यो रिक्स जोन हो । त्यति इन्फरमेसन दिने फुर्सद हामीलाई छैन’  उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment