
२० चैत, काठमाडौं । ग्यासको कालोबजारी गरेको भन्दै काठमाडौंको एक ग्यास स्टोरलाई वाणिज्य विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
आधा सिलिण्डर ग्यासलाई आठ सय रुपैयाँमा बिक्री गर्ने काठमाडौंको डल्लुमा रहेको ओम सरस्वती स्टोरलाई उक्त जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
आधा सिलिण्डर ग्यासको निगमले तोकेको मूल्य छ सय ८७ रुपैयाँ ५० पैसा भएपनि उक्त स्टोरले आठ सयमा बिक्री गरेको भेटिएको विभागका सूचना अधिकारी दीपकराज पोख्रेलले जानकारी दिए ।
बिहीबार विभागले खाद्यान्न तथा ग्यास बिक्री गर्ने पाँच वटा डिपो तथा स्टोरहरुको अनुगमन गरेको थियो । जसमध्ये वस्तु बिक्री मूल्यसूची नराख्ने बलम्बुको एक स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गराइएको थियो । अन्य तीन स्टोरहरूले भने व्यापारिक मर्यादा पालना गरेको भेटिएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया 4