Comments Add Comment

गाउँपालिका राहत बाँड्न बोलाउने, प्रहरी पक्रिने

२२ चैत, वीरगञ्ज । हेटौंडाबाट राहत सामग्री लिएर पर्सा आएका एक गैरसरकारी स‌ंस्था भोरका अध्यक्ष राजकुमार महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सखुवाप्रसौनी गाउँपालिका-१ धाँगड (उराव) बस्तीमा राहत लिएर आएका महतोसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महतोसहित हेटौंडाका रमेश सापकोटा, जागृत पौडेल, जीतपुरका कामेश्वर चौरसिया र सिमराका प्रकाश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।

१९ परिवारका लागि राहत लिएर बा २ च ५६७५ नम्बरको पिकअप गाडीमा पर्सा आएका उनीहरुलाई सखुवाप्रसौनीबाट प्रहरीले राहत सामग्रीसहित बिहान साढे ११ बजेतिर नियन्त्रणमा लिएको थियो ।

प्रतिपरिवार १८ किलो चामल, दुई किलो दाल, एक प्याकेट नुन, एक लिटर तेल, मसला एक प्याकेट, ४ थान मास्क र दुई पिस साबुनसहितको १९ प्याकेट उनीहरुले ल्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले भने संस्थाले अनुमति नलिई राहत वितरण गर्न लागेको जानकारी पाएपछि छानबिनका लागि नियन्त्रणमा लिएको बताइन् ।

‘राहत वितरण गर्न सक्ने संस्था हो वा होइन, कसरी राहत संकलन गरेका छन् । बुझ्नका लागि ल्याएका हौं ,’ उनले भनिन्, ‘कुनै अपराधिक गतिविधिमा संलग्न भनेर ल्याएको हैन ।’

संस्थाका अध्यक्ष महतोले भने सखुवाप्रसौनी गाउँपालिकाको आग्रहमै राहत सामग्री ल्याएको तर प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् । ‘विपन्न समुदायलाई सहयोग गरिदिनुस् भनेर गाउँपालिकाले बोलाएर राहत दिन आयौं । तर, प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पासका लागि पहल गरेको तर पास नपाएपछि फोनमा कुरा गरेर महतोको टोली गाउँ पुगेको थियो । तर, राहत वितरण गर्न नपाउँदै प्रहरीले नियन्त्रणमा लियो ।

भोरसँग समन्वय भएको हो : अध्यक्ष जयसवाल

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बढी जोखिममा रहेका उराव समुदायका १९ परिवारलाई राहत दिनकै लागि भोरसँग समन्वय गरिएको जानकारी दिए ।

‘अतिविपन्न परिवारका छन् । एक छाक खान उनीहरुलाई गाह्रो छ । भोर संस्थाले सहयोग गर्छु भन्यो, बाहिरबाट ल्याउँछन् भने किन नलिनु भनेर मगाएको हुँ,’ उनले भने, ‘यहाँबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला लगेको छ । के गर्ने कसरी गर्ने समझमा आइरहेको छैन । पालिकामा जनता कहाँ समस्यामा छन् हामीलाई नै त थाहा हुन्छ ।’

आवश्यक परेकारलाई सहयोग गर्न गाउँपालिकाले नौ सय प्याकेट राहत सामग्री तयार पारेर राखेको भएपनि वडा अध्यक्षहरुले एकैपटक राहत वितरण गर्ने भनेकोले वितरण गर्न नसकिएको अध्यक्ष चौरसियाको भनाइ छ ।

गाउँपालिका कार्यालयका सूचना प्रविधि अधिकृत प्रमानन्द रायले हस्ताक्षर गरेको पत्रमा समेत लकडाउनका कारण बडानम्बर १ मा रहेका विपन्न उराव समुदायका १९ घर परिवारलाई भोर संस्थाले दिन लागेको खाद्यान्न सामग्री गाउँपालिकासम्म सहज तथा सरल रुपमा ल्याउन सहजीकरण गर्न आग्रह गरिएको छ ।

समन्वय नहुँदा नियन्त्रणमा लिइयो : प्रजिअ

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने समन्वय नगरी राहत वितरणका लागि आएकोले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।

‘स्वीकृति नलिई मकवानपुरबाट गाडी आएको छ। फोनमा कुरा गरेको भरमा हुँदैन, के हो कसो हो विस्तृत विवरण दिनुपर्छ,’ प्रजिअ कार्कीले भने ।

उनले आफूलाई जानकारी नगराइएको भन्दै प्रजिअ कार्कीले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति सरकारले लिएकोले त्यसै अनुसार जानुपर्ने उनको तर्क छ ।

तर, पालिकासँग समन्वय गरेर राहत वितरण गर्न सकिने निर्णय यसअघि भएको थियो । त्यसको विवरण पालिकाले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने भनिए पनि नपठाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment