+
+
Shares

लकडाउनको बेला धमाधम रुख कटान

गैंडाकोटमा ४६ वटा रुख काटिए, वडा अध्यक्षमाथि आरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १९:३२

२३ चैत, चितवन । लकडाउनको समयमा सरकारले घर बाहिर ननिस्कन नागरिकहरुलाई अनुरोध गरिरहेका बेला नवलपुरको गैंडाकोटमा अवैध रुपमा ४६ वटा रुख कटान गरिएको छ । तीमध्ये ३८ थान सालका र बाँकी असना लगायतका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. ११ र १२ को भेंडाबारी सामुदायिक बनका २६ र बराहदेवी राष्ट्रिय सामुदायिक बनका २० वटा रुख काटिएका छन् । भेंडाबारीदेखि आहालेसम्म सडक विस्तार भन्दै वरपरका दर्जनौं रुखहरु काटिएको भेंडाबारी सामुदायिक बनका अध्यक्ष गुरु पौडेलले जानकारी दिए ।

रुख काटिएको सूचनाका आधारमा डिभिजन बन कार्यालय कावासोती, सव डिजिभन कार्यालय गैंडाकोट, सामुदायिक बन, वडा नं. ११ र १२ का वडाध्यक्षसहितको टोलीले शनिवार रुख काटिएको क्षेत्रको अनुगमन गरी लगत संकलन गरेको छ ।

सामुदायिक बनका अध्यक्ष गुरु पौडेलले वडा नं. १८ का वडाध्यक्ष तिलबहादुर चितौरेको प्रत्यक्ष संलग्नता र निर्देशनमा गैरकानुनी रुपमा सालका रुख काटिएको बताए । केही रुख बन्चरोबाट र केही मेसिन लगाएर काटिएको अवस्थामा भेटिएका छन् ।

‘चैत २१ गते रुख काटिएको भन्ने सूचना आयो, गएर हेर्दा त रुनै मन लाग्ने गरी ढलाएको देखियो,’ अध्यक्ष पौडेलले भने, ‘सरोकार राख्ने सबै सरकारी कार्यालयलाई जानकारी गराएका छौं, दोषी माथि छानविन गरी कारर्वाही होस्, बन जोगाउने एकथरी, मनपर्दी काट्ने अर्काथरी यस्तो पनि हुन्छ र ?’

गैंडाकोट वडा नं. १८ का वडाध्यक्ष तिलबहादुर चिरौरेले रुख काटिएको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘यस बारेमा मलाई जानकारी पनि छैन, निर्देशन पनि दिएको छैन ।’

डिभिजन बन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदीले गैरकानुनी रुपमा विकास निर्माणको नाममा राष्ट्रिय बनमा क्षति पु¥याएकाले दोषीहरु माथि छानविन गरी कारबाही गरिने बताए । ‘सरकारले लकडाउन भनेको छ, घर बाहिर नजान भनेको छ, तर यस्तो बेलामा एक दर्जन जति मान्छेहरु आएर रुख अनाधिकृत रुपमा रुख काटेको देखियो,’ डिभिजन प्रमुख सुवेदीले भने, ‘बन ऐन २०७६ अनुसार उनीलाई बिगो, जरीवाना र कैद सजाय हुन्छ, रिपोर्ट आएपछि मान्छे पक्राउ गर्छौं ।’

उनले विकास निर्माणको नाममा जथाभावी  बन क्षेत्र विनास गर्न नपाइने बताए । ‘यसको पनि एउटा विधि छ, कानुन छ, रुख काट्नु अघि नै ईआईए गरेर स्वीकृती लिनुपर्दछ यसो गरेको देखिएको छैन, मनपर्दी रुपमा काटिएको छ,’ डिभिजन प्रमुख सुवेदीले भने ।

गैंडाकोट नगरप्रमुख छत्रराज पौडेलले सडकका बारेमा आफूहरुलाई जानकारी नभएको बताए । प्रदेश सरकारको २४ करोड ८१ लाखको लागतमा भेंडाबारी, आहाले, दमार बुलिङ्टार जोड्ने भन्दैं सडक निर्माण गरिएको हो । गैंडाकोट नगर प्रमुख पौडेलले नगरपालिकासँग यसबारे कुनै समन्वय नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?