Comments Add Comment

लकडाउन डायरी : निर्धक्क भएर हिँड्ने दिन कहिले आउला !

वसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेका न्याना घामहरु । घामको स्पर्श पाएर रमाइरहेको धर्ती । आहा ! कति रमणीय छ यो मौसम ।

विडम्बना प्रकृतिको यो मनोहारितालाई चोरेको छ कोभिड-१९ नामक नोबेल कोरोना भाइरसले । चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश महादेशको सीमा नाघिसकेको छ । सागर महासागरका छालहरुमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गराएको छ । शक्तिशालीहरुको घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ । विश्वका सात अरब मानिस घरभित्रै थुनिएका छन् ।

आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश भएका छन् ।

चैत्रको पहिलो सातादेखि घरनजिकैको होलसेल किराना पसलमा ग्राहकको घुँइचो दिन प्रतिदिन बढ्दै थियो । कोरोना भाइरसको समाचार सुन्न थालेको त धेरै समय भइसकेको थियो । चीनबाट इटली फ्रान्स, स्पेन, जर्मनी, बेलायतलगायतका मुलुकमा फैलिइसकेको समाचार सुनिरहेकी थिएँ । यद्यपि नेपाल सुरक्षित रहेको कुरा सुन्नमा आइरहेको थियो ।

यसको प्रकृति अध्ययन गर्दा विस्तारै नेपालतिर पनि फैलने कुराले नेपालीहरु पनि चिन्तित हुन थालेको कुरा समाचारमा पढ्न पाएकी थिएँ । शायद यसैको संकेतले होला, काठमाडौँबासीले पर्याप्त खाद्यसामग्री सञ्चित गर्न थालेको बुझिन्थ्यो ।

घर नजिकै पसल भए पनि त्यहाँको भीड देखेर लाइनमा बसेर सामान किन्ने धैर्यता देखाउन सकिनँ । वनस्थलीमा बस्ने म, बालाजुमा अवस्थित भाटभटेनी जान उपयुक्त ठानेँ । सजिलो थियो ग्राहकका लािग त्यहाँ । म पुग्दा ग्राहकहरुको असाध्यै भीडभाड रहेछ यहाँ पनि । एक महिनाका लागि चाहिने सामग्री नियमित रूपकै झैं गरी किनमेल गरेँ ।

काउन्टरमा दुई दुई केजी दाल किन्नेहरुलाई आज एक-एक केजी मात्र लैजानुस् भनेर ग्राहकलाई सजग गराइरहेका थिए । ग्राहकको सुविधामा अलिकति भए पनि ख्याल राखेको जस्तो लाग्यो । यहाँ देखिएको भीडभाडले पछिल्ला दिनमा वास्तवैमा खाद्यसामग्रीको कमी हुने हो कि भन्ने त्रास सबैमा परेको थियो ।

पर्याप्त खाद्यसामग्रीका जोहो नगर्नुस । छ महिनालाई पुग्ने खाद्यसामग्री र ग्याँस बाँकी छ भन्ने सरकारी तबरबाट सूचना आइरहेको थियो । त्यसैमा विश्वास गरियो । दैैनिक ज्यालामजदुरी गर्ने मान्छेले कसरी अतिरित्त खाद्यसामग्री जोहो गर्न सक्छन् र भन्ने समाचार आइरहेको थियो ।

मानवीय हिसाबले त्यो गर्न उचित हुँदैन्थ्यो र गरिएन पनि । अरु बेला जस्तै सामान्य किनमेल गरियो तर घर नजिकको होलसेल पसलको लाइन देखेर म अचम्मित भएँ । चैत्र सात गते शुक्रबार बेलुका समाचार आयो ।

आइतबारबाट अत्यावश्यक काममा लागि मात्र केही कार्यालय खुल्ने । अन्य कार्यालयलाई चैत्र अठार सम्म बिदा । सरकारबाट यस्तो सूचना जारी भएपछि कोरोना भाइरसप्रति अझ बढी सशंकित भएँ । काठमाडौँको भान्छामा केही कुरा सकिए पसलतिर दौडने चलन छ ।

पहिला पहिलाको अनुभव अनुसार पनि काठमाडौँका वासिन्दाले सबैभन्दा बढी भोग्ने पीडा नै महङ्गी हो । तराईमा बाढी आएपनि यहाँ तरकारीकोे भाउ आकासिन्छ । नाकाबन्दी, नेपालबन्द लगायतका बन्दले तरकारी मात्र होइन्ा, ग्यास र अन्य अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव नै निम्तिन्छ । काला बजारीले प्रशस्त लाभ उठाउँछन् । उनीहरुका लागि यस्ता क्षण दसैँजस्तै बन्न पुग्छन् ।

घरमा नेपाल ग्याँसको सिलिन्डर पन्ध्र दिन अगाडिबाटै खाली भएको थियो । अब त ग्यास पनि नपाइएला भनेर सधैँ झै ग्याँस ल्याइदिने पसलमा फोन गरेँ । तर दुई दिनसम्म कोसिस गर्दा पनि फोन व्यस्तको व्यस्तै देखियो । पन्ध्र मिनेटको दुरीमा रहेको उक्त ठाउँमा पुग्दा नाम लेखाउनेको लामै लर्को रहेछ ।

ओहो ! म्याम हजुर पनि । पसलकी साहुनीले सदाशयता देखाइन् । यही मौकामा भए पनि अनुहार देेख्न पाइयो भनेर मुस्कान साटिन् । ल हजुरलाई दुई दिन पछि फोन आउँछ, नाम टिप्यौँ भनिन्, तर आज दुई हप्ता भइस्ाक्यो उनको फोन आएको छैन । लकडाउनले सबैभन्दा खुसी छोराछोरी भएका छन् ।

वाउ ! कलेज जान परेन । क्या बोर भाथ्यो अब त मज्जाले सुतिन्छ । धोको फेरेर नेट हेरिन्छ । एघार कक्षा पढ्ने छोरा दिल खोलेर हाँस्यो । बीई अन्तिम वर्षमा पढ्ने छोरी उस्तै रमाई । परीक्षाको तयारी गर्न समय पुगेको थिएन रे ।

अध्ययनप्रतिको बोझले आजभोलिका विद्यार्थी कति थिचिएका रहेछन् भन्ने बोध भयो । त्रियासी वषिर्य सासुआमाको अनुहार पनि उस्तै उज्यालियो । बिहानदेखि बेलुकासम्म आफ्ना छोरा-बुहारी र नातिनातिनीलाई आँखा अगाडि देख्न पाउने भएँ भन्ने हर्ष उत्तिकै । नत्र अरुबेला घर शून्य हन्थ्यो । हामी श्रीमान्श्रीमती भने पछिल्ला दिनमा के कस्तो हुने हो ? खाद्यसामग्री अभाव भए के कसरी जोहो मिलाउने हो भन्ने तनावमै रह्यौँ ।

महिनादिनलाई पुग्ने दालचामल त थियो । पोखरा माइतीबाट दुई घरी हरिया केरा, घरमै फलेको अर्गानिक आठ दश डल्ला बन्दा, काउली, मुला, अदुवा र आलुको बोरा हिजो मात्र आएको थियोे गाडीबाट । बेला बेलामा मौसमी तरकारीहरु यसरी नै आइरहन्थ्यो । यो आपत्मा यत्रो तरकारी आउँदा खुसी नै लाग्यो ।

चैत्र ९ र १० गते खाद्यसामग्री प्रशस्त किनेर सञ्चित गर्ने कि नगर्ने भन्ने द्विविधामा रह्यौँ । मानिसहरुले घरमै पसल खोल्नेझै गरी बोराका बोरा सामान किन्दै लैजादै गरिरहेका थिए ।

मेरो घरको ˆल्याटमा भाडामा बस्ने बहिनी बैंकमा काम गर्थिन् । उनी अफिसबाट सात बजे घर आइपुगिन् । अन्य कार्यालयहरु आइतबारदेखि बन्द भएपनि स्वास्थ्यसँग सम्बन्धित अफिस, बैंक लगायत सरकारले तोकेको अन्य कार्यालयका कर्मचारीहरु अफिस जान बाध्य भएका थिए ।

दिदी भोलिबाट लकडाउन रे बहिनीले भनिन् । हो र, समाचार पनि हेरिएनछ त मैले भनेँ । भोलि त घोडेजात्रा भयो उपत्यका बिदा छ । पर्सिबाट घर बस्ने भइयो । भोलिबाटै लकडाउन रे । गोर्खा जान पनि पाइएन । कस्तो थुनिने भइयो । काठमाडौँमा कसरी कोठाभित्र दिन बिताउने भनेर उनी चिन्तित भइन् । फेरि साढे २ वर्षको छोरोलाई कसरी कोठामा थुम्थुमाउने भन्ने लाग्यो होला उनलाई ।

उत्तिबेलै अनलाइन्ामा लकडाउन हुने समाचारको बाढी नै आएको रहेछ । अब भने मलाई साच्चैँकै पीर पर्‍यो । अति जरुरी सामानको लिस्ट बनाएँ । घर नजिकैको पसलमा जान्छु त लामो लाइन रहेछ सामान किन्नेको । ढिलो समाचार थाहा पाउने त म नै रहेछु जस्तो लाग्यो ।

खाना खाएर अम्किएर नौ बजेतिर पसल आउँला भन्ने लागेर घर फर्किएँ । नौ बजे जाँदा पनि भीड उत्तिकै थियो । बाटोभरि मान्छेको कुदाकुद पनि उस्तै । अरुबेला भए आठ बजे सुनसान हुने बाटोको आज यस्तो अवस्थामा देखेर अचम्म लाग्यो । डेरीबाट कोही दुध, दही झुन्ड्याएका छन्, कोही घ्यूको बट्टा झुन्ड्याएका छन् । तरकारीको झोला बोक्नेहरु पनि प्रशस्तै देखिए । खाद्यसामग्रीको पोको बोक्नेहरु उत्तिकै । मानौँ खानाको महासंकट निम्तिदै छ र भोकमरीले मानिसहरु प्याकप्याक पर्ने छन् भन्ने भयले सबैलाई छोपेजस्तो लाग्यो ।

आँखाले देख्न नसकिने सानो किटाणुका कारण मानिस निरीह बनेको देखियो । हात्तीलाई कमिलाले टोकिदिएर हात्ती पराजय भएको कथा सम्झेँ ।

विज्ञानले यत्रो फड्को मारेको युगमा पनि सानो जीवाणुप्रति यति धेरै डराउनु पर्ने अवस्था सिर्जना भएकोमा हाय मनुष्य ! भन्न मन लाग्यो । पसलका भाइले यो लिस्ट यही छोडिदिनुस म भोलि पसल नखुले पनि भित्रको ढोकाबाट हजुरको घरमा सामान ल्याइदिन्छु भनेपछि मैले हव्स भनेर धन्यवाद दिदै घर फर्किएँ ।

त्यतिबेला जति चिन्तित बनेर सामान किन्न दौडादौड गरियो । त्यसपछिका दिनमा खासै सोचेजति सामानको अभाव भएको छैन । जे किन्न चाहे पनि पाइरहेको अवस्था छ अहिलेसम्म । शायद काठमाडौं उपत्यकाबाट लाखौँ लाख मानिस उपत्यकाबाहिर गएको अवस्था भएर होला यतिबेला खाद्य सामग्रीको खासै अभाव भएको छैन ।

लकडाउन लम्बिदै जाने र पछिल्ला दिनमा सबै मानिस जुटेपछि भने पक्कै पनि हाहाकार हुनेछ भन्ने आकलन गर्न सकिन्छ । अहिलेसम्म त्यति धेरै महङ्गी पनि महसुस भएको छैन ।

नेपालमा सुरुवातका दिनमा फ्रान्सबाट आएकी एक १९ वषिर्य युवती मात्रै सङ्क्रमित भएको समाचार आएको थियो । त्यति डरलाग्दो स्थिति बनेको छैन जस्तो लाग्दथ्यो । तर विश्वमा हरेक दिन बढ्दै गइरहेको कोरोनाको ग्राफले सबैजनालाई चिन्तित बनाइरहेको छ । त्यसमा पनि हाम्रोजस्तो खुला सिमाना भएको मुलुकमा कोरोनाको महामारी फैलने सम्भावना अधिक रहेकोले चिन्तित हुने नै भइयो ।

लण्डनको सरकारी अस्पतालमा मेरी सहोदर बहिनी नर्सिङ पेशामा विगत सोह्र वर्षदेखि कार्यरत छन् । उनको डिउटी कोविड १९ बिरामी राखिएको वार्डमा रहेको छ रे । अझै पनि त्यति सुविधासम्पन्न मुलुकमा पनि पीपीईकै अभाव छ रे ।

महामारी रोगसँग त कसैको केही पनि लाग्दो रहेन छ । पर्याप्त मात्रामा पीपीई नहुँदा जोखिम मोलेर काम गर्न परेको सुन्नु पर्दा विकस्ाित देशलाई समेत आत्थुआत्थु पारेको अवस्थाले नरमाइलो बनायो । यस्तो बेला जागिर छोड्न पेशाको धर्मलेे दिदँैन । पेन्सनमा बसेका हजारौँ नर्सहरु त स्वयंसेवा गर्न आइरहेका छन् भने म त बहालवाला नर्स हुँ । स्वार्थी निर्णय लिएर आपत परेका बेला जागिर छोड्न मिल्दैन दिदी, बहिनीले भनिन् ।

उनले त्यसो भनिरहँदा कुनै युद्धमा होमिन लागेको सैनिकसँग बोलिरहे जस्तो लाग्यो । त्यति बेला मेरो ममताले उनलाई रोकेर राख्न सक्ने कुरा पनि भएन । निरीह बन्नु सिवाय अरु विकल्प रहेन । बहिनीको माया लागेर मैले स्नेहका केही शब्द भन्नु बाहेक अरु के नै गर्न सक्थेँ र ।

उनका कुराले मलाई हर्ष र विस्मात् दुवै लाग्यो ।

हर्ष यस अर्थमा कि उनी मानवसेवामा जुटिरहेकी छन् । आफ्नो परिवारका निजी सदस्यसमेत प्रवेश गर्न नपाउने अवस्थामा कोरोनो भाइरसका बिरामीलाई औषधि खुवाएर अत्यन्तै पुण्यको काम गर्ने अवसर पाएकी छन् । ˆलोरेन्स नाइटिङ्गेलले जस्तो काम गर्ने अवसर पाएकी छन् ।

विस्मात् यस अर्थमा कि, छ र नौ वर्षका छोराछोरी, अनलाइनबाट काम गर्दैर् घर बस्नु भएका आफ्ना बुबासँग छन् । तिनलाई कीटाणु सर्‍यो भने के हुन्छ भन्ने चिन्तामा छु । डिउटी सकिएपछि घर आएर मूल ढोकाबाट ती सबै लुगा वासिङ मेसिनमा हालेर आफू सधैँ बाथरुम पसेर तातोपानीले नुहाएर मात्रै परिवारका सदस्यसँग बोल्छु । छुट्टै कोठामा सुत्छु । भगवान भरोसा हो दिदी यस्तो अवस्थामा मैले यहाँ भन्दा बढी केही गर्न सक्दिनँ भन्ने वाक्य कानभरि गुञ्जिरहेका छन् ।

अमेरिकाको भर्जिनियामा रहेका मेरा सहोदर भाइबुहारी कोठाभित्र थुनिएका छन् । न्यूर्योक र न्यूजर्सीतिर तीन हप्तादेखि लकडाउन भए पनि भर्जिनिया राज्यमा सरकारले लकडाउन गरेको छैन रे । आर्थिक विचलनको ठूलो मार खेप्नुपर्छ भनेर भाइले काम गरेको अफिसमा बिदा लिन मिल्दैन रे ।

फेरि माक्स लगाएर पनि जाने नियम छैन रे । अमेरिकाले देशलाई ठप्प बनाएर आर्थिक रुपमा कमजोर हुन चाहेन । मान्छेको जीवनको मूल्य भन्दा उसले आफ्नो देशको आर्थिक अवस्था हेरेछ । यस्तो अवस्थामा व्यक्तिले आफनो जीवन दाउमा लगाउनु कतै मुर्खता त होइन, यिनै सन्देहले अमेरिका बस्ने भाइलाई निकै गाँज्यो र अन्ततः उसले जागिर छोडन बाध्य भयो ।

जीवन नै दाउमा लगाउनु पर्ने भएपछि त्यो जागिर छाडिदेऊ भन्न हामी पनि विवश भयौँ । ज्यान रहे फेरि पछि अर्को काम खोज्न सकिन्छ । खानै नपाउने अवस्था भए, घर र्फकने टिकट काटने पैसा नभए नेपालबाट पनि जोहो गरौँला भने पछि भाइलाई सायद ढाढस मिल्यो होला ।

साना छोराछोरी भएका कारण तीन वर्षदेखि बुहारीले काम नगरी बसेकी थिइन् । उसको कम्प्युटरसम्बन्धी राम्रो काम थियो । त्यस्त्ाो राम्रो जागिर छाडेर उनीहरु घरभित्र बन्दी भएको दुई हप्ता भइसकेको छ । अनेक गरेर खाद्यसामग्री जोहो गरियो । चामल पाउन कम्ती मुश्किल भएन दिदी, भन्ने बुहारीको दुखद अनुभवले उस्तै पीडा दियो । आफ्ना स्वजनहरुले कोभिड १९ बाट पाएको भुक्तमान सम्झिँदा असाध्यै नरमाइलो अनुभूति भएको छ ।

आज लकडाउनको १३ औँ दिन भयो । किताब लेखपढ गर्ने बानी भएकालाई खासै यो समय कष्टकर भएको छैन होला भन्ने मेरो अनुभव छ । मैले पनि थुप्रै किताबहरु पढ्न सुरु गरेँ । तर, शारदा शर्माको ‘त्यो समय’ र बानिरा गिरीको ‘कारागार’ को पुर्नपठन मात्र छिचोल्न सकेँ । नत्र दर्जनौँ किताबहरु अधुरो नै छन् । एकाग्र हुनै सकेकी छैन । केही नेपाली गीत संगीत हेरेर सुनेर मन शान्त गर्ने प्रयास गरेकी छु ।

आफूले पनि केही लेख्न जर्मको गरे पनि सन्तुष्ट हुने किसिमले डुब्न सकेकी छैन । एउटा कृतिको तयारीमा लागेको धेरै भयो र पनि कामले उछार पाउन सकेको छैन । सारा वातावरण नै टक्क रोकिएजस्तो लाग्छ । हरेक दिन मानिस र गाडीहरुको कोलाहलको संगीत बज्ने मेरो टोल अहिले शून्यप्रायः जस्तै छ ।

बिहान पसलबाट ल्याएका दूधका प्याकेट र सागसब्जीसमेत साबुनपानीले सफा गरेर मात्र सेवन गर्ने अचम्मको दैनिकी बनेको छ । उठ्नु, खानु, बस्नु, सुत्नुकै दैनिकीले एक महिना नाघ्ने उपक्रममा छ । कोरोनो भाइरसको बिगबिगी रोकिएला भन्दा झन् बढिरहेको छ । यसबाट विश्वमा लाखौँ मानिस संङ्क्रमित भएका छन् । हजारौँको सङ्ख्यामा मानिसहरु मृत्युको मुखमा परिसकेका छन् ।

भाइरसको महामारी सकिएर प्रकृतिको शाश्वत सुन्दरताको आनन्द लिने दिन कहिले आउँला ? चराको चिरबिर नियाल्न र फूलको सौन्दर्यमा लुटपुटिन कहिले पाइएला ? निर्धक्क सडकमा हिँडेर आफ्नो दैनिकीमा रमाउने दिन कति पर होला ? साथीसँग हातमा हात मिलाएर हिँड्ने दिन कहिले आउँला ? साथीहरुको जमघटमा रमाउने दिन कहिले आउँला ? जमिरहेको तलाउजस्तो दैनिकी कहिले नदी जसरी बग्ला ? मेरो मानसपटल यी नै कुराको खोजमा रङमङरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment