+
+
Shares

भारतबाट फर्केका वडाध्यक्ष नै क्वारेन्टाइनमा बसेनन्, स्थानीयले गरे प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते २०:५५

२३ चैत, जनकपुरधाम । अहिले विदेशबाट आउनेहरुलाई खोजी-खोजी क्वारेन्टाइनमा राख्न सरकारले स्थानीय तहहरुलाई परिचालन गरेको छ । तर, भारतबाट आएका धनुषाका एक जनप्रतिनिधि नै क्वारेन्टाइनमा नबसेपछि स्थानीयबासी त्रसित भएका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगेन्द्र पाठक भारतबाट करिब एक महिनापछि आफ्नो घर फर्केका छन् । कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाएको अवस्थामा उनी शनिबार राति लुकेर घर आएको र घरमै सेल्फ क्वारेन्टाइनमा नबसी छिमेकमा हिँडडुल गर्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

पछिल्लो एक महिनादेखि उनी भारतको बिहार राज्यअन्तर्गत मधुवनीमा बस्दै आएका थिए । वडा अध्यक्ष पाठकले लकडाउन पालना नगरेको भन्दै स्थानीयबासीले प्रहरीमा उजुरीसमेत गरेका छन् ।

‘स्थानीयबासीले हामीलाई वडाअध्यक्ष भारतबाट आएको विषयमा जानकारी गराएका छन्,’ इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले भने, ‘हामी यो कुरा गाउँपालिका अध्यक्षलाई जानकारी गराइसकेका छौं ।’

प्रहरी निरीक्षक रोकायाले गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखलाई जानकारी गराएपछि उनले यस विषयमा छलफल गर्ने बताएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शेखले आफूलाई पनि यो विषयमा सूचना आएको बताएका छन् । उनले सूचना आएपछि आफूले वडा अध्यक्ष पाठकलाई भेट्न खोजेको तर नसकेको बताएका छन् । अब सोमबार बिहानै भेटेर क्वारेन्टाइनमा जान आग्रह गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?