Comments Add Comment

कोभिड १९ : न्युयोर्कमा एकै दिन ७ सय ३१ जनाको मृत्यु

२६ चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा कोभिड १९ का कारण एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ ।

यो एकै दिन मृत्यु हुने अहिलेसम्मकै धेरै हो । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा परेका छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ । टाइसन न्युयोर्कको जेलमा मृत्यु हुने पहिलो व्यक्ति हुन् । उनी न्युयोर्कको ठूलो जेल राइकर्स आइल्याण्डमा राखिएका थिए ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
गभर्नर एन्ड्रयु कुमोले न्युयोर्क शहर अमेरिकामा कोभिड १९ को इपिसेन्टर बनेको बताएका छन् । दुई दिनसम्म संक्रमितको संख्या कम भएका बेला फेरि एक्कासी मृत्यु हुनेको संख्या बढेको हो ।

यद्यपि गभर्नरले तीनदिनयता नयाँ संक्रमितको संख्या घटेको बताएका छन् । उनले शहरबासीलाई स्वास्थ्यसम्बन्धी गाइडलाइन पालना गर्न, सामाजिक दुरी कायम राख्न र घरभित्र बस्न आग्रह गरेका छन् । उनले न्युयोर्कबासीलाई ठूलो संख्यामा भेला नहुन पनि आग्रह गरेका छन् । ।

गभर्नर कुमोले कम्तीमा ११ सय कैदी बन्दीलाई मुक्त गर्न आदेश जारी गरेका छन् । गभर्नरका सहयोगीले एक प्रश्नको उत्तर दिँदै जेलमा भाइरस संक्रमणको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment