Comments Add Comment

जनकपुरधाममा रगतको अभाव

२६ चैत, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१३, फूलबरियाका जितेन्द्र यादव रक्तअल्पताका बिरामी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि २२ वर्षीय यादव मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भए । उपचारका निम्ति उनलाई दुई पाउण्ड रगत चाहियो । तर, बुधबार दिउँसोसम्म प्रयास गरे पनि रगत पाउन सकेनन् ।

स्थानीय सञ्चारकर्मी मनोज मोरबैताले उनको यो समस्या समाधान गर्ने निधो गरे । जितेन्द्र यादवको बी नेगेटिभ रक्त समूह रेडक्रसको रक्तसञ्चार केन्द्रमा खोजियो । तर यहाँ बी नेगेटिभ मात्र नभई कुनै पनि समूहको रगत पाइएन् । रक्तअल्पता रोगका कारण जीवन–मरणको दोसाधमा रहेका यादवलाई मोरबैताकै पहलमा बुधबार दिउँसोतिर दुई युवकले रगत दिए ।

जिल्ला युवा सञ्जाल धनुषाका सदस्यसमेत रहेका जनकपुरधाम उपमहानगरपालिका १९ कपलेश्वरका अभिनास साह र सिरहाको सिरहा नगरपालिका निवासी सुदन कुसियैतले रक्तदान गरेका छन् ।

जितेन्द्रको ज्यान यी दुई युवकले बचाए पनि रगत अभावमा अन्यको हालत के होला ? भन्ने अवस्थाको सृजना भएको छ, जनकपुरधाममा । किनभने यहाँको रक्तसञ्चार केन्द्रमा १ पाउण्ड पनि रगत छैन् । रक्तसञ्चार केन्द्रका प्राविधिक नरेश यादवले केन्द्रमा एक पाउण्ड रगत समेत नभएको बताए ।

‘पछिल्लो तीन सातायता कसैले पनि यहाँ रक्तदान गरेको छैन,’ उनले भने, ‘यहाँ मौज्दात रहेको रगत एक साताअघि नै सकिसकिएको छ ।’

दैनिक १० देखि १२ पाउण्ड रगत खपत हुने जनकपुरधाममा अहिले रगत चाहिने बिरामीहरुलाई आफैं रगत खोजिरहनुपर्ने बाध्यता उत्पन्न भएको छ । जसलाई जुन समूहको रगत चाहियो रक्त सञ्चार केन्द्रबाट त्यस्ता समूह भएका व्यक्तिको फोन नम्बर लिएर आग्रह गर्नुपरिरहेको अवस्था छ ।

‘हामीकहाँ रगत लिन आउँछन्, तर भए पो त दिनु ?,’ प्राविधिक यादवले भने, ‘रक्तदान गरिरहनेहरूले सतर्फ ध्यान दिनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment