Comments Add Comment

कोरोनाबाट न्युयोर्कमामात्रै सात हजार जनाको मृत्यु

२८ चैत, काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या सात हजार नाघेको छ ।

बीबीसीका अनुसार बिहीबार मात्र न्युयोर्कमा सात सय ९९ जनाको मृत्यु भएको थियो । यससँगै न्युयोर्कमा मृत्यु हुने मानिसको संख्या सात हजार ६७ पुगेको छ । मृत्यु हुने मानिसको यो संख्या चीनको तुलनामा दोब्बरभन्दा बढी हो ।

बिहीबार मात्र न्युयोर्कमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । यससँगै न्युयोर्कमा समग्र संक्रमितको संख्या एक लाख ६० हजारको हाराहारीमा पुगेको छ ।

यो संख्या विश्वको दोस्रो धेरै संक्रमित भएको मुलुक स्पेनको भन्दा बढी हो । स्पेनमा अहिलेसम्म एक लाख ५३ हजार संक्रमित पुष्टि भएका छन् भने इटालीमा यो संख्या एक लाख ४३ हजार छ । सन् २०१९ को अन्तिममा पहिलो पटक यो भाइरस देखिएको चीनमा भने संक्रमितको संख्या ८२ हजार वरपर मात्र छ ।

न्युयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले भने न्युयोर्कमा कोभिड–१९ को कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या घटेको दावी गरेका छन् । न्युयोर्कमा सामाजिक दूरी कायम राख्न सरकारले दिएको निर्देशनको कारण अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको उनको भनाइ छ ।

यसैबीच अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउचीले बिहीबार यो महामारीको कारण अमेरिकामा ६० हजार मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

यसअघि मार्चको अन्तिममा उनले अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखदेखि दुई लाखको बीचमा रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment